काभ्रे, ५ भदौ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल क्रान्तिकारी युवा सङ्घ बनेपा नगर समितिको आयोजनामा नयाँपुस्तालाई मार्गनिर्देशन कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् सांसद सुरेन्द्रराज गोसाईले हर व्यक्ति जीवनको उद्देश्यबारे स्पष्ट हुनुपर्ने जीवनमा सही निर्णय लिन नसक्दा शिक्षा र सम्पत्तिले मानिसलाई सुख शान्ति दिन नसक्ने चर्चा गर्नुभयो । बिल गेट्स र जोन उड जस्ता धनी व्यक्तीले पनि जीवनको अन्त्यमा सम्पत्तिमा चित्त बुझाउन नसकि शान्तिको चाहना गरेको उदाहरण भएको सांसद गोसाईले बताउनुभयो ।
‘मानिसले आफुले गरेको कामको पारिश्रमि लिनु स्वाभाविक भएपनि तर गलत ढंगले अस्वाभाविक रुपमा पैसा कमाउनु बेइमानी हो । शासक दलहरुले भ्रष्टाचार गरि देशलाई डुवाएको महालेखा परिक्षणको प्रतिवेदनमा उल्लेख छ । शासकहरुको यस्तो गलत कामले गर्दा देशको राजनीति बिग्रेको हो’ सांसद गोसाईले भन्नुभयो ।
सांसद गोसाईले भन्नुभयो, ‘‘आप्mनो निम्तिमात्र सोच्नु सोच्नुलाई आत्मकेन्द्रीय भनिन्छ । अरुकोलागि पनि सोचेर काम गर्नु महानता हो । गरिब देशमा जन्मेका बुद्धको संसारमा फैलनुमा दान, भिक्षा, त्याग र समर्पण भावले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’’
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले नयाँ पुस्ताले देश र जनताको हितमा नसोच्ने हो भने जनविरोधी शासकहरुले राज गरिरहने छ भन्नुभयो । राजनीतिलाई फोहरी खेल बनाउने शासकहरुविरुद्ध नयाँपुस्ताले सङ्घर्ष गर्नु आजको आवश्यकता भएको वैद्यले बताउनुभयो । एउटै उचाइमा उडिरहेको चराहरुमध्ये परेवाले आँगनको विस्कुन देख्छ, कागले जुठेल्नाको जुठो देख्छ र गिद्धले बारीको सिनो देख्छ । जस्तो सोच, त्यस्तै दृष्टि हुने भएकोले नयाँ पुस्ताले राम्रो सोच बनाउनु पर्ने धारणा राख्नु भयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ बनेपा नगर समितिका अध्यक्ष ओमप्रसाद मानन्धरले पृथक अध्ययन र पेशामा संलग्न नयाँ पुस्तालाई असल विचार प्रदान गरेर सुमार्गमा ल्याउनको लागि मार्गनिर्देशन कार्यक्रम राखेको बताउनुभयो । झिंगाले फोहोर रुचाउँछ, माहुरीले सुगन्ध रुचाउछ भनेझै नयाँ पुस्तालाई सही बाटोमा लानको लागि सही विचारको आवश्यक हुने अध्यक्ष मानन्धरले चर्चा गर्नुभयो ।
कार्यक्रममा समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा सहभागिहरुले राखेको विभिन्न जिज्ञासाहरुमा सांसद गोसाईले स्पष्ट पार्नु भएको थियो ।
