प्रत्येक वर्ष कै झै यस वर्ष पनि हरिबोधनी एकादशिको पावन अवसरमा काभ्रे पनौती ११ बल्थलीमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लडकेश्वर महादेवको दिव्य धाममा हजारौ भक्तजनहरुका घुइँचो लागेको थियो । बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरदेखि पूर्व युवराज पारश शाह सम्मको आगमनले लडकेश्वर मेलाको रौनक बढाएको थियो ।
मल्लकालिन राजा भुपतिन्द्र मल्लले त्रिवेणी धाममा स्नान गरी लडकेश्वर महादेवको दर्शन गरेपछि लडकेश्वर मेलाको परम्परा शुरु गरिएको मानिन्छ । सयौ वर्ष अगाडिदेखि मेला शुरु भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको लडकेश्वर धाम पछिल्लो वर्ष ऊँ कार टेलिभिजनको सक्रियता र १०८ फिट अग्लो क्रिशुल र शिव धारा निर्माण गरेपछि दर्शनार्थिहरुको बाक्लो उपस्थिति हुन थालेको छ । अझ यस वर्ष मुख्यमन्त्री, पूर्व युवराज सहित विशिस्ट व्यक्तिहरुको आगमनले यसको चर्चा र महत्व बढेको छ ।
लडकेश्वर मेलाको दिन लक्ष्मी नारायण पन्चायत मन्दिर पनौती–११ ख्याकुबाट बाजागाजा सहित सयौ भक्तजनहरु रथ यात्रा गर्दै लडकेश्वर धाम आयका थिए भने लडकेश्वर मेलाको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाद्वारा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा २५ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटिका केन्द्रीय अध्यक्ष डा. विशाल भण्डारी सहभागी भएका थिए । हरिशयनी एकादशीका दिन क्षीर सागरमा शयन गर्नुभएका भगवान नारायण चार महिनापछि जागरण हुने दिनका रुपमा हरिबोधनी एकादशीलाई मानिन्छ ।
