बनेपा । नेपाली साहित्यिक क्षेत्रको चीरपरिचित नाम जनमत वाङमय प्रतिष्ठान नेपाल यतिबेला साप्ताहिक साहित्यिक यात्रामा छिमेकी मुलुक भारतको सिक्किम र दार्जिलिङको भ्रमणमा रहेको छ । देश तथा प्रवासको साहित्यिक गतिविधिलाई नजिकबाट नियाल्ने र अन्तर देशिय साहित्यिक भाईचाराको सम्बन्ध बिकास गर्ने उदेश्यका साथ मङ्सिर ४ गतेबाट शुरु भगएको यात्रा १० गतेसम्म रहने छ । भ्रमण को क्रममा पहिलो दिन उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा त्रियुगा प्रज्ञा प्रतिष्ठानले भ्रमणटोलीलाई स्वागत कार्यक्रम आयोजना गरि अन्तरक्रिया गरेको थियो । कार्यक्रममा त्रियुगा नपाका नगर प्रमुख वसन्तकुमार बस्नेत, प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राममणी पोखरेल, साहित्यकारहरु पुण्य कार्की, माधव गोज्याङरे लगायतले स्वागत गर्दै जनमतको साहित्यिक अभियानको चर्चा गर्नु भएको थियो भने भमण टोलिका संयोजक जनमतका अध्यक्ष मोहन दुवालले भ्रमणको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।
त्यस्तै सिक्किम पुगेको भ्रमणटोलीलाई आइतबार बिहान नेपाली साहित्य परिषद सिक्किमका पदाधिकारीहरुले हार्दिकता पुर्वक स्वागत तथा सम्मान गर्नु भएको थियो । सिक्किम साहित्य परिषदका अध्यक्ष हरि ढुङेल, सिक्किमका वरिष्ठ साहित्यकारहरु प्रधुम्न श्रेष्ठ अमरलाल प्रधान, टीका ढुङेल स्वागतले भ्रमणटोलीलाई स्वागत गर्दै दुई देशको साहित्यिक गतिविधि र आगामी दिनमा हुन सक्ने साहित्यिक सहकार्यका बारेमा सौहार्दपुर्वक अन्तरक्रिया गर्नु भएको थियो । कार्यक्रममा जनमतका अध्यक्ष दुवालले सिक्किम साहित्य परिषदको न्यानो आतिथ्यता र सम्मानको लागि धन्यवाद दिनुहुदै दुई देश विच भएका साहित्यिक प्रकाशन एक अर्कामा पु¥याउन भोगिरहेको कठिनाइका बारेमा बोल्नु हुँदै परिषदलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो ।
भ्रमण टोलिले आज मंगलबार दार्जिलिङका विभिन्न साहित्यिक सस्थाहरु संग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । फर्कने क्रम्मा नेपालको इलाम र धरानमा पनि साहित्यिक अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणटोलीमा अध्यक्ष दुवालका साथै उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, जनमत वाटिकाका संयोजक एवं मानव अधिकार कर्मी राजु सरकार, जनमतका सदस्य एवं अग्रज पत्रकार भगवती तिमल्सिना, जनमत साहित्यिक मासिककी सम्पादक भारती श्रेष्ठ, सह सम्पादकद्वय रामसुन्दर देउजा, श्रीकृष्ण वादे, जनमत कार्य समिती सदस्य एवं सयपत्री प्रतिष्ठान नेपाल जनागालका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत १० जना साहित्यकारको सहभागिता रहेको छ ।
