काभ्रेपलाञ्चोक जिल्लाका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी शुरु भएको छ । यस अघि जिल्लाको रोशी, भुम्लु र नमोबुद्ध नगरपालिकाले सेवा प्रारम्भ गरिसकेका छन् । भूमि प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १० पालिकालाई सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन पत्राचार गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार भूमि प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले २०८३ भदौ २ गतेको पत्रमार्फत स्थानीय तहमा सेवा सञ्चालनका लागि आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।
धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, तेमाल, चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकामा तत्काल सेवा प्रारम्भ गर्ने तयारी गरिएकाले सहजिकरणका लागि सम्पर्क ब्यक्तिहरु समेत तोकिएको छ । भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने सरकारी नीतिअनुसार पालिकाहरूमा आवश्यक जनशक्ति, पूर्वाधार र प्राविधिक व्यवस्था मिलाउन पत्राचार गरिएको कार्यालयले जनाएको छ । सेवा सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न तोकिएका कर्मचारीलाई सम्बन्धित पालिकामा खटाउने व्यवस्था पनि पत्रमा उल्लेख छ ।
भूमि प्रशासन सेवा स्थानीय तहमा विस्तार गर्ने सरकारी योजनाअन्तर्गत मालपोत तथा नापीसम्बन्धी काम पालिकाबाटै सञ्चालन गर्ने व्यवस्था अघि बढाइएको हो । यसबाट जग्गा रजिस्ट्रेसन, नामसारी, दाखिल खारेज, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवाजस्ता कामका लागि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ । काभ्रेपलाञ्चोकका थप १० पालिकामा सेवा सञ्चालनको तयारीसँगै जिल्लाभित्रै भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुने छ । यसअघि सेवा सुरु भएका पालिकाको अनुभव र आवश्यक व्यवस्थापनका आधारमा बाँकी पालिकामा पनि सेवा सञ्चालनको प्रक्रिया अघि बढाइएको हो । पहिलो चरणमा देशका विभिन्न आठ स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा आइसकेको छ ।
काभ्रेपलाञ्चोकका भुम्लु र रोशी गाउँपालिका पनि छन् । कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं, शिवसताक्षी नगरपालिका, झापा, कनकाई नगरपालिका, झापा, चौदण्डीगढी नगरपालिका, उदयपुर, भुम्लु गाउँपालिका, काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका, काभ्रेपलाञ्चोक, मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक र बेलका नगरपालिका, उदयपुर रहेका थिए । यी पालिकामा मालपोत तथा नापीसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सेवाग्राहीलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको थियो । काभ्रेपलाञ्चोकका भुम्लु र रोशीमा सेवा सुरु भएसँगै स्थानीय नागरिकले जग्गाको नक्सा तथा अन्य भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै पालिकाबाट लिन पाएका छन् । तर अधिकांश नागरिक शहर केन्द्रित भएकाले स्थानीय तहको सेवाले झनै कठिन बनाएको छ ।
