प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले जिल्लामा आन्दोलनका कार्यक्रम अघि बढाउने भएको छ । महासंघ काभ्रेपलाञ्चोक शाखाको आयोजनामा बिहिबार बुडोलस्थित कार्यालयमा जिल्लाका सञ्चारसम्बद्ध संघ–संगठनका प्रतिनिधि तथा महासंघका सल्लाहकारहरूसँग भएको छलफलले आन्दोलनका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको हो । बैठकले जिल्लामा सञ्चालित पत्रपत्रिकाहरूलाई लोककल्याणकारी विज्ञापनबापतको रकम भुक्तानीका लागि जिल्ला हुलाक कार्यालयमा बिल पेस नगर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, महासंघको घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत २०८३ मंसिर ९ गते बिहान ९ बजे जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने निर्णय गरिएको छ । ‘पत्रकारलाई सामूहिक रूपमा गिरफ्तार गर’ भन्ने नारासहित आयोजना हुने धर्नामा जिल्लाका सम्पूर्ण पत्रकारहरूलाई सहभागी हुन महासंघले आह्वान गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारिताको निर्बाध अभ्यास सुनिश्चित गर्न घोषित आन्दोलनमा जिल्लाका सञ्चारकर्मी तथा पत्रकारसम्बद्ध संघ–संगठनको सहभागिता र ऐक्यबद्धता जुटाउने उद्देश्यले छलफल आयोजना गरिएको कुरा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले बताउनुभयो ।
