IMG-LOGO

निःशुल्क आँखा शिविर सम्पन्न

 मंगल, कार्तिक १८, २०८३  -

    मण्डनदेउपुर । सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समुदायको स्वास्थ्य सेवासँग जोड्दै काभ्रेको मण्डनदेउपुर नगरपालिका–९, लाकुरेधारामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरबाट १५० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन् । जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा तथा श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को सह–आयोजनामा शनिबार उक्त शिविर सञ्चालन गरिएको हो । संस्थाको वार्षिक साधारण सभाको अवसरमा कार्यालय परिसरमा आयोजित शिविरलाई रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाले प्राविधिक सहयोग गरेको थियो ।
    शिविरमा सहभागी सेवाग्राहीको आँखा परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो । परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाका लागि जिल्ला सहकारी संघ र रेयुकाई मासुनागा आँखा अस्पतालबीच भएको सम्झौताअनुसार आवश्यक व्यवस्था मिलाइएको जनाइएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी संघले सदस्य संस्थाको संस्थागत विकाससँगै समुदायको सामाजिक तथा स्वास्थ्य क्षेत्रमा समेत योगदान पु¥याउँदै आएको बताए । उनले सहकारीको माध्यमबाट स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्नु संघको सामाजिक दायित्वसमेत भएको उल्लेख गरे ।
    श्रेष्ठले आँखाको नियमित परीक्षण र रोगको समयमै पहिचानले दृष्टिसम्बन्धी समस्याको जोखिम कम गर्न सहयोग पुग्ने बताउँदै शिविर सफल बनाउन सहकार्य गर्ने पञ्चकन्या सहकारी संस्था र प्राविधिक सहयोग उपलब्ध गराउने रेयुकाई मासुनागा आँखा अस्पताललाई धन्यवाद व्यक्त गरे । जिल्ला सहकारी संघले सदस्य संघ–संस्थासँगको सहकार्यमा समुदायको आवश्यकता र हितलाई केन्द्रमा राखेर स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्