भकुण्डेबेशी-नमोबुद्ध नगरपालिकाले खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिकका लागि घरघरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । कोभिड १९ (कोरोना) विरुद्धको कोभिशिल्डको दोस्रो मात्रा खोप लगाउने अभियानको क्रममा खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिकका लागि स्वास्थ्यकर्मीको टोली घरघरमै पुगेर खोप लगाइएको हो । नगर प्रमुख टिपी शर्मा तिमल्सिना स्वास्थ्यकर्मी लिएर आफैं जेष्ठ नागरिकको घरघरमा पुगेका छन् । खोप केन्द्रसम्म पुग्न नसक्ने ८५ बर्षदेखि १०२ बर्षसम्मका जेष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको नगर प्रमुख तिमल्सिनाले बताए । नमोबुद्ध ८ का १ सय २ बर्षका अमन्तीनाथ हुमागाईंले पनि कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्यकर्मीले खोप लगाइदिएपछि हुमागाईंसहितका जेष्ठ नागरिकहरुलाई नगर प्रमुख तिमल्सिनाले खोप कार्ड हस्तान्तरण गरेका थिए ।
नमोबुद्ध नगरपालिकामा गत फागुन २३ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको खोप अभियानको क्रममा पहिलो मात्रा कोभिशिल्डको खोप लगाउने ६५ बर्षमाथिका व्यक्तिाके संख्या १ हजार ७ सय ७ रहेको छ ।
