नमोबुद्धमा पछिल्लो समय कोभिड-१९ बाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेसँगै नमोबुद्ध नगरपालिका वडा नं. ४ मा स्थापना गरिएको आइसोलेसन सेन्टरमा चाप बढेको छ । पछिल्लो एक सातामा आइसोलेसन केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको हो । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालित आइसोलेसन केन्द्रमा हाल १४ जना कोभिड १९ का बिरामी रहेको केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिइन् । आइसोलेसन केन्द्रमा हालसम्म १ सय ४१ जना कोभिड १९ का बिरामी भर्ना भइसकेका छन् । सोमबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आइसोलेसन केन्द्रको अनुगमन गर्नु भयो ।
