नेपाली कांगेसको १५ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिमा चन्द्रबहादुर लामा सर्वसम्वतरुपमा चयन हुनुभएको छ । हिजो भएको क्षेत्रीय अधिवेशनले वहाँलाई सभापति पदमा निर्वाचित गरेको हो । त्यसैगरी काभ्रे क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितेन्द्रमान (दावा) तामाङ सर्वसम्मतरूपमा ‘सभापति’पदमा चयन हुनुभएको छ । काभ्रेको भुम्लु गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका तामाङलाई सर्वसहमतिमा क्षेत्रीय सभापतिपदमा घोषणा गरिएको हो । उहाँको प्रतिष्पर्धिमा दावी गर्नुभएको नेपाली कांग्रेस बनेपाका निवर्तमान नगर सभापति महेशकुमार कर्माचार्यले क्षेत्रीय सभापति पद त्याग गरी दावा लामालाई समर्थन गरेसँगै काभ्रे क्षेत्र नं. २ को सभापति पदमा सर्वसम्वत भएको थियो । त्यस्तैगरी प्रतिनिधि सभा क्षेत्र नं. २ को ‘क’ मा हेमकुमार तामाङ र ‘ख’ मा गंगाप्रसाद घिमिरे सर्वसम्वतरुपमा सभापति पदमा निर्वाचित हुनुभएको छ । क्षेत्र नं. २ को ‘क’ मा मिलन श्रेष्ठले हेम तामाङलाई समर्थन गरेसँगै सर्वसम्वत भएको हो । बाँकी समितिपदमा पनि सहमति गरेर टुङ्गयाउने बताइएको छ । ११ जना निर्वाचित र ६ जना मनोनित हुने विद्यानमा व्यवस्था भएको छ । काभ्रे क्षेत्र नं. २ मा १ हजार ७ सय २ प्रतिनिधि रहेको कुरा अधिवक्ता एवं निर्वाचन अधिकृत पुरुषोतम तिमल्सिनाले जानकारी दिनुभयो ।
काभ्रे क्षेत्र नं. १ को ‘ख’ मा शन्त र शंकरको भिडन्त
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को ‘क’ मा रणबहादुर लामा सभापति पदमा सर्वसम्वत निर्वाचित हुनुभयो । तर ‘ख’ मा भने सभापति पदमा शंकर अधिकारी र सन्त लामा प्रतिस्पर्धि भइ चुनावी मैदानमा उत्रने दावी गरेका कारण सहमती हुन नसक्दा हिजो निर्वाचन भएको छ । यो समाचार तयार पार्दा सम्म नतजा आएको छैन । मतगणना जारी छ । काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ र २ मा गरी दुई हजार ८ सय प्रतिनिधिले मतदान गरेको जनाएको छ ।
