IMG-LOGO

धुलिखेल बहुउद्देश्यीय सहकारीको १९ औं वार्षिक सभा

 मंगल, असोज ६, २०८३  -

    धुलिखेल । धुलिखेल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सञ्जीव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी, व्यवस्थापक, कर्मचारी तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति, आर्थिक अवस्था, संस्थागत गतिविधि तथा आगामी योजना तथा कार्यक्रमहरू सम्बन्धमा छलफल तथा समीक्षा गरिएको थियो ।
    कार्यक्रममा संस्थाका सचिव पुजन श्रेष्ठले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाबाट सम्पन्न विभिन्न कार्यक्रम तथा गतिविधिहरूको विवरण प्रस्तुत गरिन् । उनका अनुसार उक्त आर्थिक वर्षमा सञ्चालक समितिको १२ पटक, ऋण उपसमितिको ४ पटक, लेखा तथा सुपरिवेक्षण समितिको ४ पटक तथा सल्लाहकारबाट राय–सुझाव संकलनका लागि ४ पटक बैठक सम्पन्न भएका छन् ।
    सचिव श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म संस्थामा १,३०२ जना सदस्य रहेका छन् । जसमा १,०५० जना पुरुष र २५२ जना महिला रहेका छन् । साधारणसभामा संस्थाको बचत तथा ऋण कारोबार, ऋण लगानी तथा असुली, सदस्य सेवा, कर्मचारी व्यवस्थापन तथा निष्क्रिय सदस्यलाई सक्रिय बनाउने विषयमा समेत छलफल गरिएको थियो । त्यसैगरी, कोषाध्यक्ष रोजना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी, बचत, जगेडा तथा अन्य कोष, कर्जा जोखिम कोष, ऋण लगानी, कुल सम्पत्ति तथा विभिन्न क्षेत्रमा गरिएको लगानीको अवस्थाबारे सभालाई जानकारी गराइन् । आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाको ऋण लगानीमा उल्लेख्य वृद्धि भएको जानकारीसमेत सभामा प्रस्तुत गरिएको थियो ।
    लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदनमा संस्थाको आर्थिक अनुशासन, पारदर्शिता तथा सुशासनलाई थप प्रभावकारी बनाउन कार्यालय सञ्चालन खर्च न्यूनीकरण, नियमित बचत वृद्धिमा जोड, नियमित बचतको धारमा नआएका सदस्यहरूलाई सक्रिय बनाउन प्रभावकारी रणनीति तयार गर्ने तथा संस्थागत सुरक्षणसम्बन्धी शेयर सदस्यमा विश्वास अभिवृद्धि गर्न विशेष कार्यक्रम मार्फत प्रचारप्रसार गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।
    साधारणसभामा आगामी दिनमा संस्थालाई थप सदस्यकेन्द्रित बनाउँदै शिक्षा तथा रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य गर्ने, कृषक सदस्यहरूको मागअनुसार कृषि क्षेत्रमा कर्जा उपलब्ध गराउने तथा सम्भाव्यताका आधारमा रासायनिक मलको डिलरशिप र बिउबिजनको खरिद–बिक्री गर्ने योजना प्रस्तुत गरिएको छ । त्यसैगरी, स्थानीय व्यापारिक वर्गहरूसँग साझेदारी गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्ने तथा सरकारी संस्थानहरूसँग हातेमालो गरी दैनिक उपभोग्य वस्तुको डिलरशिप सञ्चालन गर्ने सम्भावनाका विषयमा समेत सभामा छलफल गरिएको थियो ।
    सभालाई सम्बोधन गर्दै अध्यक्ष सञ्जीव कुमार श्रेष्ठले संस्थाको स्थापना वि.सं. २०६४ सालमा धुलिखेलमा भएको स्मरण गर्दै १९ औँ वार्षिक साधारणसभासम्मको संस्थाको यात्रामा शेयर सदस्यहरूको विश्वास, सहयोग र सहभागिता महत्वपूर्ण रहेको जनाउनुभयो । अध्यक्ष श्रेष्ठले सहकारीको मूल भावना नै पारस्परिक सहयोग, विश्वास, सहकार्य र सामूहिक प्रयास भएको उल्लेख गर्दै संस्थालाई आगामी दिनमा अझ सुरक्षित, पारदर्शी, व्यवस्थित, सबल तथा सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्