मण्डनदेउपुर, मण्डनदेउपुर नगरपालिकाले पशुपालक किसानहरुको आर्थिक आयस्तर माथि उठाउन नगर भित्रका किसानहरुलाई उन्नत जातको मुर्राजातका भैँसीको पाडी वितरण गरेको छ । आइतबार मण्डनदेउपुर नगरपालिका वडा नं. ७ मा एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई भैँसीको पाडी वितरण गरेको हो । नगर प्रमुख टोक बहादुर वाइवाले किसानलाई भैँसीको पाडी वितरण गर्नुभयो । नगरपालिकाले ६० प्रतिशत र किसानले ४० प्रतिशत बेहोर्ने गरी नगरका सबै वडाका छनौट भएका २ सय ५ जना किसानले भैँसीको पाडी प्राप्त गर्ने कुरा प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताउनुभयो । प्रति वटा पाडीको मुल्य ३३ हजार पर्ने छ । नगरपालिकाले आ.व. ०७७/०७८ को बजेटबाट २ सय ५ जनालाई ६७ लाख ६५ हजारको लागतको भैँसीको पाडी खरिद गरेर वितरण गरेको हो । २ सय ३२ जना किसानहरुलाई वितरण गर्ने लक्ष्य राखे पनि २ सय ५ जनाले मात्र ४० प्रतिशत रकम नगरपालिकामा जम्मा गरेकाले लक्षीत वर्ग सबैलाई भने पुगेन । आइतबार भने मण्डन देउपुर नगरपालिकाको ७, ८ र ९ वडाका किसानहरुलाई पाडी वितरण गरेको छ । प्रति वडामा कम्तीमा १५ वटाका दरले १२ वटै वडाका किसानहरुलाई पाडी वितरण गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रममा मण्डनदेउपुर पालिका वडा नं. ७ का अध्यक्ष एवं आर्थिक समिति संयोजक नारायण प्रसाद लम्सालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
