नमोबुद्ध नगरपालिकामा बुधबारदेखि भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएको छ । यससँगै नगरवासीले जग्गासम्बन्धी विभिन्न प्रशासनिक सेवा आफ्नै पालिकाबाटै प्राप्त गर्ने भएका छन् । जहाँ जग्गाको स्वामित्व हस्तान्तरण, नामसारीलगायत भूमि प्रशासनसम्बन्धी सेवा लिन सदरमुकाम धुलिखेल तथा अन्य कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । नमोबुद्ध नगरपालिकाको प्रशासकीय भवन, भकुण्डेबेशीमा बुधबार भदौ २४ गते भूमि व्यवस्थापन शाखाको सेवा प्रारम्भ भएको हो । स्थानीय तहलाई भूमि प्रशासनसम्बन्धी अधिकार हस्तान्तरण भएसँगै साविक मालपोत कार्यालय तथा नापी कार्यालयबाट प्रदान हुँदै आएका विभिन्न भूमि प्रशासनसम्बन्धी सेवा क्रमशः स्थानीय तहमार्फत नै उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको हो । सोही क्रममा नमोबुद्ध नगरपालिकाले पनि भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्धघाटनसँगै पहिलो सेवाग्राहीलाई नगर प्रमुख कुनसाङ लामाले खादा लगाई स्वागत गर्दै सेवा प्रवाहको औपचारिक शुभारम्भ गर्नुभयो । कार्यक्रममा नगर प्रमुख लामाले स्थानीय नागरिकलाई सहज, सरल र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याइएको बताउनुभयो । भूमिसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ । यसअघि सामान्य जग्गा प्रशासनसम्बन्धी कामका लागि समेत लामो दूरी तय गरी सम्बन्धित कार्यालय पुग्नुपर्ने बाध्यता थियो । अब त्यस्ता सेवाहरू आफ्नै पालिकाबाट प्राप्त गर्न सकिने भएपछि सेवाग्राहीको समय र आर्थिक भारसमेत कम हुने भएको छ । काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने क्रम अघि बढिरहेका बेला नमोबुद्ध नगरपालिकामा पनि यो सेवा सुरु भएको हो । यसले जिल्लाका ग्रामीण तथा दुर्गम भेगका नागरिकलाई राज्यका सेवा सुविधा उपलब्ध भएसँगै नागरिकहरुले सिंहदरवारको अधिकार गाउँगाउँमा भएको अनुभूति हुनेछ ।
