IMG-LOGO

जिल्ला सहकारी संघ काभ्रेले संचारकर्मीसँग अन्तरक्रिया गर्याे

 मंगल, भदौ ३०, २०८३  -

    बनेपा । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको आयोजनामा जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्लामा सञ्चालित सहकारी संस्थाका गतिविधि, संघको भूमिका, वर्तमान अवस्था तथा सहकारी क्षेत्रका चुनौती लगायतका विषयमा सञ्चारकर्मीहरूसँग छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लिमिटेड काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष शान्ति लामा वाइवाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुभएको थियो ।
    कार्यक्रममा संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले जिल्ला सहकारी संघका गतिविधि, हालसम्म भएका काम तथा आगामी कार्यक्रमका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । काभ्रे जिल्लामा ६४६ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् भने तीमध्ये ५८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध छन् । जिल्लाका १३ वटै स्थानीय तहमा सहकारी संस्थाहरू सञ्चालनमा रहेको जानकारी गराइएको थियो । प्रस्तुतीकरणका क्रममा सबैभन्दा धेरै सहकारी संस्था बनेपा नगरपालिकामा २०१ वटा रहेको जानकारी दिइएको थियो । सहकारी क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै श्रेष्ठले संघले हाल ऋण लगानी तथा बचतसम्बन्धी कार्य रोकिसकेको र सञ्चालनमा रहेका सेवा केन्द्रहरू पनि क्रमशः बन्द गर्दै लगिरहेको जानकारी गराउनुभयो ।
    सहकारी संस्थाको पारदर्शिता, सुशासन, सदस्यको अधिकार, सहकारीको वर्तमान अवस्था तथा सञ्चारमाध्यमसँगको सम्बन्धलगायतका विषयमा पत्रकारहरूले जिज्ञासा तथा सुझाव दिएका थिए । सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सञ्चारमाध्यम र सहकारी क्षेत्रबीच आवश्यक समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पत्रकारहरूले दिएका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा संघका गतिविधिलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
    अध्यक्ष श्रेष्ठले सञ्चारकर्मी तथा सहकारीकर्मीबीच अनुभव आदानप्रदानका लागि आवश्यक तालिम सञ्चालन गर्ने, असल शासनका अभ्यासहरूको आदानप्रदान गर्ने तथा संघका कामकारबाहीलाई थप पारदर्शी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । संस्थाको काममा कमजोरी वा गल्ती देखिएमा सञ्चारमाध्यम तथा सरोकारवालाबाट सुझाव प्राप्त गरी त्यसलाई सुधार गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वहरु अध्यक्ष ईश्वरी ओझा, महासंघका पूर्व अध्यक्ष महेश पौडेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै सहकारी र सञ्चार क्षेत्रबीचको अन्तरक्रियाले दुवै पक्षलाई एक–अर्काका गतिविधि बुझ्न सहयोग पुग्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले जिल्ला सहकारी संघले गर्दै आएका सकारात्मक कामहरूको महासंघले सञ्चारमाध्यममार्फत सकारात्मक प्रचार गर्दै आएको उल्लेख गर्नुभयो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्