नेपाल जेसिज क्षेत्र “ग” सम्मेलन २०२६’ बनेपामा हुने भएको छ । काभ्रे लेडी जेसीजको आतिथ्यतामा आगामी असोज २ र ३ गते उक्त सम्मेलन हुने जानकारी आइतबार पत्रकार सम्मेलन मार्फत दिईएको छ । क्षेत्र “ग” सम्मेलन २०२६ की निर्देशक सुमित्रा श्रेष्ठ बादेले सम्मेलनमा चारवटै क्षेत्र तथा १८६ शाखाका करिब ६ सय युवाहरूको सहभागिता रहने अनुमान गरिएको जानकारी दिनुभयो । भोटेकोशी बाढीबाट मुलुक प्रभावित भएको विषम परिस्थितिमा हुन लागेको सम्मेलनमा प्रोजेक्ट संकल्प २०२६ मार्फत प्राकृतिक विपद् व्यवस्थापन, पीडितहरूको पुनस्र्थापना तथा समुदायमा सकारात्मक परिवर्तनका लागि युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै 'Aim Act Achieve' को भावनालाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि जनाएको छ । सम्मेलनले यस क्षेत्रका युवाहरूको नेतृत्व विकास गरी गतिशील युवाहरूलाई आफ्नो समाज र देशका लागि गर्नुपर्ने काम, कर्तव्य र दायित्वबारे सजग गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको काभ्रे लेडी जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनिका शाक्यले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको प्रवद्र्धन तथा व्यावसायिक विकास गर्ने मुख्य लक्ष्य राखिएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न सेमिनार, वक्तृत्वकला प्रतियोगिता, प्रकरण गोष्ठी, नेतृत्व तथा क्षमता विकास सम्बन्धी प्रशिक्षण (Motivation Training, Generative Al for Digital Marketing, Financial Literacy and Investment Training, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्व लगायतका विषयमा कार्यक्रमहरू सञ्चालन गरिनेछन् । संसदीय बैठक प्रणालीबाट सभा सञ्चालन हुनेछ । कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं काभ्रे जेसीजका पुर्व अध्यक्ष कञ्चनचन्द्र बादे, नेपाल जेसीज वर्ष २०२३ का अध्यक्ष विकास मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
