IMG-LOGO

बनेपामा कन्या पुजा सम्पन्न

 मंगल, भदौ २३, २०८३  -

    बनेपा÷मध्य पहाडी पूर्वीय जिल्लाको व्यापारिक तथा ऐतिहासिक नगरी बनेपामा १ सय २४ वर्षदेखि निरन्तर हुँदै आएको बृहत् कन्या पूजा सम्पन्न भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुँदै आएको बनेपाको कन्या पूजा धार्मिक आस्था, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्वका कारण विशेष मानिँदै आएको छ । बनेपामा हुँदै आएको कन्या पूजालाई संस्कृति संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धनसँग जोडेर अघि बढाउनुपर्ने साहित्यकार, बनेपाका जानकार मोहन दुवालले जनाउनुभयो । यस वर्षको कन्या पूजामा ७ हजारभन्दा ५ सय कन्याको पूजा गरिएको कन्या पूजा प्रबन्ध समितिले जनाएको छ । सनातन कन्या पूजा प्रबन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले हरेक वर्ष भव्यरुपमा कन्या पूजा मनाउँदै आएको बताउनुभयो । 
    कन्या पूजामा अविवाहित, रजस्वला नभएका तथा बेल विवाह नगरिएका कन्याहरूलाई विभिन्न धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा छ । कन्याहरूलाई पूजा गर्दा उनीहरूको सु–स्वास्थ्य, शुभ–मङ्गल र सुखमय जीवनको कामना गरिन्छ । कन्याहरूको आशीर्वादबाट मन हलुङ्गो हुने, आत्मसन्तुष्टि प्राप्त हुने तथा मनोकांक्षा पूरा हुने विश्वाससमेत रहँदै आएको छ । बनेपामा सुरु भएको यो परम्परा अहिले बनेपा आसपासका साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वरलगायतका विभिन्न स्थानमा समेत विस्तार भएको छ । बनेपाको कन्या पूजा व्यवस्थापनका लागि कन्या पूजा प्रबन्ध समिति गठन गरिएको छ ।
    बनेपाका आसपासका सात गाउँका कन्याहरूलाई बनेपामा ल्याएर पूजा गर्ने परम्परालाई व्यवस्थित बनाउन समिति गठन गरिएको हो । कोषमा जम्मा भएको रकमको ब्याजबाट कन्या पूजाको व्यवस्थापन हुँदै आएको समितिले जनाएको छ । बनेपाको भोलाखाटोलबाट सुरु हुने पूजाअघि भोलाखा गणेशको पूजा गरिन्छ । त्यसपछि विधिअनुसार पूजा, टीका र जंजका (काँचो धागो) लिएर कन्या पूजा सुरु गरिन्छ । कन्याहरूलाई स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुट, सिजनअनुसारका खानेकुरा, फ्रुटी, चाउचाउ तथा दक्षिणालगायतका सामग्री प्रदान गरिन्छ । यस वर्ष एउटी कन्यालाई करिब पाँच सय रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको समितिले जनाएको छ ।
    पूजा भोलाखाटोलबाट सुरु भई स्वधाटोल, वकुटोल हुँदै दक्षुटोलसम्म पुग्ने र त्यसपछि लायकु ध्वाखा हुँदै पुनः भोलाखाटोलमा पुगेर विसर्जन गर्ने परम्परा छ । बाटोका दायाँतर्फका सडक पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई क्रमशः पूजा गर्दै यो धार्मिक तथा सांस्कृतिक यात्रा सम्पन्न गरिन्छ । बनेपाको कन्या पूजा एक सय वर्षभन्दा लामो समयदेखि निरन्तर चल्दै आएको महत्वपूर्ण सांस्कृतिक परम्परा भएकाले यसको संरक्षण, दस्तावेजीकरण र प्रचारप्रसार आवश्यक रहेको स्थानीयहरूको भनाइ छ । धार्मिक आस्थासँगै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस परम्परालाई पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा समेत विकास गर्न सकिने स्थानीयहरुले बताउँदै आएका छन् ।
    कन्या पूजा प्रबन्ध समितिको नेतृत्व रामगोपाल कायस्थले गर्दै आउनुभएको छ । समितिको उपाध्यक्षमा सुरकृष्ण वैद्य, सचिवमा प्रकाश कायस्थ र कोषाध्यक्षमा दिनेश कायस्थ रहनुभएको छ । सदस्यहरूमा ध्रुवराज कर्माचार्य, रामेश्वर श्रेष्ठ, निरञ्जुल कायस्थ, मणिराज कायस्थ, ग्रुवेन तौजले, शुभराज जोशी, प्रताप वैद्य र उदय सिं मुस्याजु हुनुहुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्