काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेका जेठा छोरा तथा इन्जिनियर इन्दीवर घिमिरे भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएर नवौँ दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको छ । रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाका परियोजना प्रमुख घिमिरे बाढीपछि आयोजनाको क्याम्पबाट सम्पर्कविहीन हुनुभएको थियो । बाढी तथा पहिरोका कारण आयोजनाको क्याम्पमा ठूलो क्षति पुगेपछि उहाँसहित त्यहाँ कार्यरत अन्य व्यक्तिहरू पनि सम्पर्कविहीन भएका थिए ।
६२ वर्षीय घिमिरे लामो समयदेखि जलविद्युत् तथा इन्जिनियरिङ क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । पछिल्ला केही वर्षदेखि उहाँ रसुवामा रहेर अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको नेतृत्व गर्दै आउनुभएको थियो । घिमिरे यसअघि मेकानिकल इन्जिनियरिङतर्फ उपप्रबन्धकका रूपमा समेत कार्यरत हुनुहुन्थ्यो । विद्युत् तथा जलविद्युत् क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका उहाँ पछिल्लो समय परियोजना व्यवस्थापनको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेका दुई छोरामध्ये इन्दीवर जेष्ठपुत्र हुनुहुन्थ्यो । पिता जीवित रहँदा उहाँले माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाबारे सञ्चारमाध्यमलाई जानकारी गराउने तथा परिवारका विभिन्न सामाजिक–साहित्यिक गतिविधिमा सहभागिता जनाउँदै आउनुभएको थियो । भोटेकोशी क्षेत्रमा आएको बाढीपछि इन्दीवरसहित आयोजनाको क्याम्पमा रहेका अन्य व्यक्तिहरू पनि सम्पर्कविहीन भएका छन् । खोज तथा उद्धार प्रयास जारी रहे पनि नवौँ दिनसम्म उहाँको अवस्था पत्ता नलागेपछि परिवारले कुशको प्रतीक शव बनाएर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो ।
