प्राचीन, साँस्कृतिक बाजागाजाहरु र दाफा संस्कृतिलाई संरक्षण सम्बर्धन र पुस्तान्तरण गर्दै आएको बनेपाको वाँख्यो दाफा भजन खलले बिगतका वर्षहरुमा झैं यस वर्ष पनि लोपोन्मुख नौ बाजा सहित विभिन्न बौद्ध बिहार चैत्य बहि लगायत तिर्थहरु परिक्रमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । विशेष गरि बौद्धमार्गी नेवारहरू त्यसमध्ये पनि मानन्धरहरु, नेपाल सम्बत अनुसार १० औं महिनामा पर्ने गुँला महिना भरी राँगा, च्यांग्रा, भेडा, बोका आदिको सिङ बाट वनेको विशेष प्रकारको बाजाको धुन बजाउदै बुद्ध विहार, चैत्य, स्तुपा, बहि, बहा, गुम्बा लगायत विविध तिर्थहरू भ्रमन गर्दै गुँला पर्व मनाउने गर्दछन् । गुँला पर्वमा नौ वटा बाजाहरु बजाइन्छ, जसमा पास्त, धां, धोलक, पछिमा, धिमेचा, नगरा, नायखि, कोंचा खिं र डवडवचा पर्छन यो सँगै अन्य सहायक बाजाहरु पनि बजाइन्छ जसमा त भुस्या, मुहाली, सिछ्या, बौचा, टिं, धुलु, चतिचा पोङ्गा आदि पर्छन र यो बाजा समूहलाई नौ बाजा भनिन्छ । यो गुँला पर्वमा मात्र बजाईने भएर गुँला बाजा पनि भनिन्छ । नौ बाजामा बजाइने सिङको ध्वनीले पितृ मोक्ष हुने र हाम्रो वरिपरी घुमिरहेको नकारात्मक उर्जा नष्ट भइ सकारात्मक उर्जा पैदा हुन्छ भन्ने जनविश्वास रहेको छ ।
बनेपाका मानन्धरहरु गुँला महिनाभर चोखो नीतिलाई प्राथमिकतामा राख्दै विशेष किसिमको व्रत बस्ने चलन छ । जसमा एक महिना सम्म दिनको एक छाक बेलुकी मात्र (जसमा फलफुल, दुध, दहि, रोटी शाकाहारी तरकारी मात्र ) खाने र एक विशेष किसिमको कालो माटोको चैत्यहरु बनाउने गर्छन् जसलाई, गुँलाको अन्तिम दिन विविध बाजा गाजा र हर्ष उल्लासका साथ त्रिवेणिमा लगेर विसर्जन गर्छन, यसरी एक महिनासम्म मानन्धरहरु ब्रत बस्ने, चैत्यहरू बनाउने ( चैत्यहरु बनाउने पनि आफ्नै छुट्टै नीति नियम र छुट्टै किसिमको पुजा बिधिहरु छन र यसका सबै नीति नियम र पुजा बिधिलाई पालना गरेर चैत्यहरु बनाउने गर्छन )अन्तमा त्रिवेणीमा लगेर, विसर्जन गर्ने कार्यक्रमलाई गुँला धलं भनिन्छ ।
नेपाल सम्बतको गुँलाथ्व पारु देखि ञलाथ्व पारूसम्मको समय अवधि नै गुँला हो जुन समयमा बौद्ध मार्गी नेवारहरु बुद्ध चैत्य, वहि, वहा, स्तुपा, विहार गुम्बा लगायत तिर्थहरुमा विशेष पुजा र उपासना गर्ने गर्दछन् र गुँला धलं पनि एक किसिमको बुद्ध पुजा नै हो । गुँला धलं र गुँला बाजा एक अर्काका परिपुरक हुन् । बनेपामा मानन्धरहरु पहिला पहिला गुँला धलंको आयोजना हुँदा मात्र गुँला बाजा निकाल्ने गरिन्थ्यो अन्यथा गुँलाधलंको आयोजना नभएको अवस्थामा गुँला बाजा पनि निकालिन्नथ्यो गुँला धलं आयोजना गर्न थुप्रै जनशक्ति (थुप्रै ब्यक्तिहरूले महिना दिन सम्म समय दिनुपर्ने) चाहिने र आजभोलीको व्यस्त जीवनशैलीका कारण एकदम गाह्रो अवस्था रहेकोले पहिले जस्तो प्रत्यक बर्ष गुँला धलंको आयोजना गर्न गार्हो छ । त्यसका बाबजुत पनि यस वाँख्यो दाफा भजन खलःले लोप हुने अवस्थामा रहेको यससँग सम्बन्धित गुँला बाजा संरक्षण सम्बर्धन र पुस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्य बोकेर विगत केहि वर्ष पहिले देखि गुँला बाजालाई निरन्तर रूपमा निकाल्दै आइरहेको छ ।
एकदम व्यस्त जीवनशैलीका बावजुत पनि वाँख्यो दाफा भजन खलःले गत २०७५ सालमा गुँला धलंको आयोजना गरेको थियो । प्रत्येक वर्ष आयोजना गर्नुपर्ने गुँला धलं सबैको साथ सहयोग र समयले पनि साथ दिएको खण्डमा प्रत्येक १० वर्षमा एक पटक भए पनि गर्नु पर्छ भन्ने योजना सहित वाँख्यो दाफा भजन खलःले आफ्नो कार्यक्रमहरु बनाउँदैछन।विश्वास छ यसमा सबैको साथ र सहयोग रहनेछ ।
