काठमाडौं/ नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिंग क्षेत्रमा ठुलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्दारका लागि काभ्रे कांग्रेसले पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम हस्तान्तरण गरेको छ ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले नेपाली कांग्रेसका सह–महामन्त्री उदय शमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेका हुन् । मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रिय विपद व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाईने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ ।
