IMG-LOGO

धुलिखेल अस्पतालको ट्रमा तथा इमरजेन्सी सेन्टर तीव्र गतिमा निर्माण हुँदै

 मंगल, भदौ १६, २०८३  रमेशप्रसाद न्यौपाने

    सर्वशुलभ दङ्गबाट नागरिकहरुलाई स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको धुलिखेल सामुदायिक अस्पतालले थप सेवा विस्तारका लागि ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण कार्यलाई तिब्रता दिएको छ । धुलिखेल सामुदायिक अस्पतालमा निर्माण भइरहेको ट्रमा तथा इमरजेन्सी सेन्टरको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ । नेपाल सरकार र जापान सरकारको सहकार्यमा निर्माण भइरहेको १०० शैयाको ट्रमा सेन्टरको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको अस्पतालले जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रा.डा. दीपक श्रेष्ठले परियोजनाको निर्माण प्रगति करिब ५० प्रतिशते भएको बताउनुभयो । ट्रमा सेन्टर निर्माणका लागि कुल करिब ३ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जनाउनुभयो । त्यसमध्ये करिब २ अर्ब रुपैयाँ भवन निर्माणमा र बाँकी रकम अत्याधुनिक स्वास्थ्य उपकरण तथा अन्य संरचनामा खर्च गरिनेछ ।
    अरनिको राजमार्ग र बीपी राजमार्ग हुँदै आवतजावत गर्ने नागरिक तथा ती राजमार्गले जोड्ने विभिन्न जिल्लाका दुर्घटनामा घाइते हुने बिरामीलाई तत्काल र विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेल अस्पतालले ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माणको अवधारणा अघि सारेको हो । अस्पतालले सन् २०१४ मै सम्बन्धित निकाय तथा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) नेपालसमक्ष ट्रमा सेन्टर निर्माणको प्रस्ताव अघि बढाएको थियो । 
    नेपाल सरकार र जापान सरकारको सहकार्यमा सन् २०२३ अक्टोबर तथा २०२५ मेमा जाइका नेपाल र अर्थ मन्त्रालयबीच ३.८७९ बिलियन जापानी येन बराबरको लागतमा १०० शैयाको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गर्ने सम्झौता भएको छ । परियोजनाको कार्यकारी निकाय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र कार्यान्वयन निकाय धुलिखेल अस्पताल रहेको छ । निर्माण कार्यका लागि जापानको टोडा कर्पोरेशन, टोकियो छनोट भएको थियो । जाइका नेपाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा सन् २०२५ अप्रिलबाट निर्माणको प्रारम्भिक काम सुरु गरिएको हो । परियोजनामा जापानी कम्पनी टोडासँगै नेपालको हिमालयन बिल्डर्स एण्ड इन्जिनियरिङलगायत कम्पनी पनि संलग्न रहेका छन् ।
    करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त ट्रमा सेन्टरको भवनको कुल क्षेत्रफल करिब ७४ हजार वर्गफिट रहनेछ । विपद्, आगलागी तथा अन्य आकस्मिक अवस्थालाई समेत ध्यानमा राखेर भवनको डिजाइन गरिएको प्राध्यापक डाक्टर दिपक श्रेष्ठले थप प्रस्ट पार्दै उल्येख गर्नुभयो । भवन निर्माणमा न्यूनतम तीन फिटदेखि १० फिटसम्मका पिल्लर प्रयोग गरिएको छ । निर्माणस्थलमा हाल करिब २५० जना कामदार परिचालन भइरहेका छन् । विभिन्न चुनौतीका बाबजुद निर्माण कार्य भने निरन्तर अघि बढिरहेको छ । अन्तर्राष्ट्रियस्तरमा देखिएका असहज परिस्थिति, नेपालमा आएको बाढी तथा अन्य विपद् र जेनजी आन्दोलनका कारण निर्माण सामग्री आपूर्ति, जनशक्ति व्यवस्थापन तथा परियोजना सञ्चालनमा केही समस्या आए पनि काम पूर्णरूपमा प्रभावित नभएको अस्पतालले जनाएको छ ।
    निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरमा सिटी स्क्यान, एमआरआई, अत्याधुनिक शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेसिनलगायतका आवश्यक स्वास्थ्य उपकरण जडान गरिनेछ । अस्पतालका अनुसार अत्याधुनिक उपकरण तथा अस्पतालका बेडसहितको संरचना सन् २०२७ जुनसम्म हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । ट्रमा तथा इमरजेन्सी सेन्टर सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकसँगै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली र भक्तपुरका गम्भीर घाइते तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीले तत्काल विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ । बीपी राजमार्गसँग जोडिएका तराईका जिल्लाबाट आउने घाइते बिरामीका लागि पनि यो केन्द्र महत्वपूर्ण हुने अस्पतालले जनाएको छ ।
    नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति पछिल्ला वर्षमा बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षमा मात्रै देशभर २४ हजार ४८८ सडक दुर्घटना भएको तथ्यांक छ । ती दुर्घटनामा करिब ६ हजार व्यक्ति गम्भीर घाइते भएका थिए भने २ हजार ३७६ जनाले ज्यान गुमाएका थिए । नेपालमा दैनिक औसत पाँचदेखि छ जनाको सवारी दुर्घटनामा मृत्यु हुने अवस्था देखिन्छ ।दुर्घटनाबाट मानवीय क्षतिसँगै ठूलो आर्थिक क्षतिसमेत हुने गरेको छ । सो अवधिमा दुर्घटनाका कारण ५६ अर्ब ४४ करोड ६१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको तथ्यांक छ । दुर्घटनामा घाइते भएकाको उपचारमा मात्रै करिब ६८ करोड रुपैयाँ खर्च भएको बताइएको छ ।
    यातायात सवारी दुर्घटना तथा सडक दुर्घटनामा परी नागरिकहरुको अंगभङ्ग भइ बाँचन बाद्य छन् । नेपालका पहाडी क्षेत्रमा रुख, भीर तथा पाखाबाट लडेर हुने दुर्घटनाबाट घाइते हुनेको संख्या पनि उल्लेख्य छ । चोटपटकका कारण बिरामीले शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने मात्र होइन, परिवार र राज्यले समेत ठूलो आर्थिक तथा सामाजिक क्षति व्यहोर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा धुलिखेलमा निर्माण भइरहेको ट्रमा तथा इमरजेन्सी सेन्टरले गम्भीर घाइतेको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने डा. श्रेष्ठको भनाइ छ । विसं २०५३ सालदेखि स्वास्थ्य सेवा सुरु गरेको धुलिखेल अस्पतालले तीन दशकको अवधिमा विभिन्न विशेषज्ञ तथा अत्याधुनिक सेवा थप गर्दै आएको छ । नयाँ ट्रमा तथा इमरजेन्सी सेन्टर सञ्चालनमा आएपछि अस्पतालको आकस्मिक तथा जटिल चोटपटक उपचार क्षमता थप विस्तार हुने अपेक्षा गरिएको छ । कार्यक्रममा प्राध्यापक डाक्टर सुमनराज ताम्राकार, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्लाका क्रियासिल संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्