समाज सेवी, दानविर बनेपाली राजभाइ प्रधानले शीर मेमोरियल अस्पतालको ४ तले पक्की भवन वहिरंग विभाग निर्माण गरिदिनु भएको छ । ८१ वर्षीय राजभाई प्रधानको व्यक्तिगत खर्चमा ४ तले बहिरंग विभागको भवन निर्माण भएको हो । २०८१ कार्तिक २१ गते निर्माण थालिएको उक्त भवन अहिले बहिरंग र अन्तरंग सेवा विस्तार स्तरीय हुने भएको छ । सुरुमा २ तलाको निर्माण थालिएको भएपनि प्रधानले अस्पतालको लागि अपर्याप्त हुने देखेपछि थप २ तला निर्माणको लागि सहयोग थप गरिदिनुभएको थियो ।
भवनको उद्घाटन कार्यक्रममा समाजसेवी राजभाई प्रधानले आफू कुनै ठूलो उद्योगपति, धनाढ्य नभएपनि जन्मेपछि समाजलाई केही योगदान दिनुपर्छ भनेर अस्पतालको थप सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको जनाउनुभयो । १० बर्षअघि भवन निर्माणको कुरा अघि बढाएको भएपनि नक्सा निर्माण, नक्सा पास लगायतका कामले केही ढिला भएको प्रधानले बताउनुभयो । अहिले आफू जन्मिएको स्थानमा केही गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
बनेपा स्थायी घर भएका प्रधान हाल ललितपुरको बागडोल बस्दै आउनुभएको छ । शिक्षा, स्वास्थ्य क्षेत्रको लागि सहयोग गर्दै आउनुभएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वर लगायतका क्षेत्रमा सामाजिक कार्य गर्नुभएको छ । हस्तान्तरण समारोहमा बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेशाखा अध्यक्ष विनोदकुमार न्यौपाने, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, वरिष्ठ साहित्यकार मोहन दुवाल, मानवअधिकार अभियन्ता राजु सरकार, अस्पतालका तर्फबाट ताराजङ्ग गुरुङलगायतले प्रधानको सहयोगी भावनाको प्रशंसा गर्दै बनेपा, काभ्रे र अन्य जिल्ला समेतका सेवाग्राही लाभान्वित हुने बताउनुभयो ।
अस्पतालले प्रशासनले अस्पताल निर्माणका लागि सहयोग गर्ने दाता, प्राविधिक, व्यवस्थापक एवं सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेको छ । शीर मेमोरियल हस्पिटल सेभेन्थ डे एड्भेन्टिस्ट अस्पताल हो । उक्त अस्पताल बनेपाको सबै भन्दा पुरानो अस्पताल हो । यस अस्पतालले बनेपाका र छिमेकमा रहेका स्थानमा रहेका मानिहरूलाई औषधोपचार सेवा प्रदान गर्दै आइरहेको छ । जिल्लाकै पुरानो अस्पताल शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा बहिरंग भवन ४ तला बनेको छ । बहिरंग भवनबाट काभ्रे जिल्ला र त्यस आसपासका नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । ६ करोड अनुमान लागत रहेको उक्त वहिरङ्ग विभाग भवन ३७ वटा कन्सल्टेन्ट युनिट र अन्य प्रशासनीय कार्यको लागि समेत उपयुक्त हुनेकुरा निमित्त कार्यकारी निर्देशन डा. एन्जेला बस्नेतले बताउनुभयो । अस्पतालका पूर्व कार्यकारी निर्देशक सुन्दर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
