हेटौँडा । बागमती प्रदेश सभाको बैठक हिजो बस्न नसकेपछि भोलि (भदौ ९ गते) अपराह्न ४ बजेका लागि सारिएको छ । प्रदेश सभाका सचिव रामकुमार पौडेलले सोमबार सूचना जारी गर्दै विशेष कारणवश हिजो राति ८ बजेका लागि निर्धारित बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएको हो । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक मंगलबाट अपराह्न ४ बजे बस्ने गरी पुनः निर्धारण गरेका छन् ।
यसअघि मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि हिजो दिउँसो १ बजे बैठक बोलाइएको थियो । तर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको विवादका कारण बैठकको समय पटक–पटक सारिएको थियो । पहिले दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो । ५ बजे पनि बैठक बस्न नसकेपछि राति ८ बजेका लागि समय तोकिएको थियो । अन्ततः हिजोको बैठक स्थगित गरी भोलि बस्ने गरी नयाँ समय निर्धारण गरिएको हो । मंगलबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची अघि बढ्ने अपेक्षा गरिएको छ ।
