दिनहु जस्तो चोरी र लुटपाटको घटना बनेपामा घटी रहेका छन् । हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु देशैभरी फैलँदो छ । नागरिकहरुको अभिभावक सरकार हो भने सुरक्षाको जिम्मा पाएको प्रहरी सुरक्षाकर्मी नागरिकहरुको सबभन्दा नजिकको सुरक्षाको प्रत्याभूति दिने पहिलो सरकार हो । तर नागरिकहरुले सुरक्षाको अनुभूति गर्न पाएका छैनन् । आइतबार राती बनेपा–८ बसपार्कमा दिनेश गुप्ताको पान पसलमा चोरी भयो । उहाँका अनुसार अज्ञात समुहले पसलको ताला फोडेर, ढोका भत्काएर भित्र रहेका महँगा चुरोट, पराग अन्य जीन्सी सामान गरी करिब ३ लाख वरावरको धनमाल चोरी भएको पसलका संचालक दिनेश गुप्ताले बताउनुभयो । विहान पसल खोल्न जाँदा पसर चोरी भएको थाहा पाएको सञ्चालक गुप्ताले जनाउनुभयो । त्यसैगरी सोहि राती नै बनेपा अनलाइन किड्स पसलमा लुगा, कपडा चोरी गरेको कुरा पसलकी संचालक रुपा शाक्यले बताउनुभयो । लुगा कपडा छरीवरी पारेको, झोलामा र बोरामा रहेको कपडा लिएर गएको, सिसी क्यामरा एउटा फुटाइ दिएको संचालक शाक्यले जनाउनुभयो । सटरको ताल्चा फुटाएको कपडा सडकमा छर्दै लगेको सिसी टीभी फुटेजमा देखिन्छ । १५÷१६ वर्ष उमेर समुहका ४ व्यक्तिहरु पसलमा प्रवेश गरी चोरी गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । त्यसैगरी भिभोर ९९ मार्केटमा पनि सटरको ताल्चा फोरी चोरी गरेको प्रहरीले जनाएको छ । उक्त चोरी घटनाको आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । एक महिना अघि बनेपाको अरनिको राजमार्ग मै दिनदहाडै एक महिलाको कानको सूनको गहना चोरी गरेको, त्यसैगरी दिनदहाडै बनेपा चण्डेश्वरी मार्गमा धुलिखेल–१ देवीटारको एक महिलालाई बेहोस बनाइ सुनको गहना लुटपाट गरेको घटना सेलाउन नपाउँदै बनेपाको के शहर के ग्रामीण बस्ती चोरीको घटना बढ्दै जाँदा इलाका प्रहरी कार्यालय बनेपा मुकदर्शक बनेको भन्दै स्थानीयहरु आर्कोशित बनेका छन् । प्रहरीले विगतमा विहान, दिउँसो, बेलुका १२ बजे सम्म गस्ती गर्दथियो । अहिले इलाका प्रहरी कार्यालय बनेपाले बेलुका गस्ती गरेको नै आफूहरुलाई थाहा नभएको स्थानीयहरुले बताएका छन् । बनेपा नगरपालिकाले पनि नगर प्रहरी नियुक्त गरेको छ । उनीहरुको के काम ? बनेपा बजार क्षेत्रमा विहान बलीका सुरक्षा गस्ती गरे हुँदैन तलब मात्र खाने एक स्थानीयले आक्रोसित हुँदै भने ।
