शैक्षिक परामर्शदाता संघ काभ्रेले, शैक्षिक परामर्श नियमावली २०८३ त्रुटिपुर्ण रहेकोले फिर्ता गर्नुपर्ने लगायत विभिन्न माग राखेर आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार चारदोबाटोमा प्ले कार्ड प्रदर्शन गरेको छ । सरकारले आफ्ना माग बेवास्ता गरे आगामी चरणमा कार्यालयको ताला–चाबी सम्बन्धित निकायलाई बुझाएर थप कडा आन्दोलनमा उत्रिने चेतावनी उनिहरुले दिएका छन् । शैक्षिक परामर्श नियमावली–२०८३ मा समावेश केही बुँदाले व्यवसाय सञ्चालनमा अनावश्यक जटिलता सिर्जना गर्ने, विद्यार्थी तथा सेवा प्रदायक दुवैलाई असर पर्ने र व्यावहारिक अवस्था नसमेटिएको भन्दै संशोधन गर्न सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको इक्यान काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिनुभयो । फेकन काभ्रेका अध्यक्ष पदम लामाले सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल नगरी सरकारले नियमावली ल्याएको दाबी गर्नुभयो । काभ्रेका शैक्षिक परामर्श व्यवसायीहरूको प्रदर्शनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र फेकनका जिल्ला अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
