IMG-LOGO

प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै

 मंगल, असार १६, २०८३  गोविन्दप्रसाद मैनाली 

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हिटलरको ग्याँस च्याम्बर जस्तै भएको बताएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै नेकपाका सांसद नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई ‘हिटलरको ग्याँस ‘च्याम्बर’ सँग तुलना गरेका हुन् । यो एउटा जर्मन हिटलरको ग्यास च्याम्बर जस्तै बनेर त्यहाँ संवैधानिक अङ्गका प्रमुखहरूलाई बोलाएर गाली गर्ने, मानवअधिकारवादी आयोगलाई धम्क्याउने र थर्काउने काम भइरहेको छ,’ उनले भने । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्रीलाई भेट्न आएका प्रधानसेनापतिलाई तीन घण्टासम्म कुराएर फर्काइएको घटनाले सरकारको अपरिपक्वता झल्काएको उनको तर्क थियो ।
    प्रशासनिक फजुल खर्च र मन्त्रीका सल्लाहकारहरूको नियुक्ति प्रति पनि उनले प्रश्न उठाए । ५७ जनालाई सचिव सरहको सुविधा दिएर मन्त्रीको सचिवालयमा भित्राउने तयारी भएको सुनिएको भन्दै राज्यको ढुकुटी सिध्याउने काम भइरहेको बताए । सांसद विष्टले सरकार सुशासन र जनजीविकाका सवालमा पूर्णतः असफल भएको दाबी गरे । उनले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीका सम्बन्धमा एउटा कविता समेत सुनाए ।  ‘बनेको छ जालझेलले त्यो तिम्रो पार्टी, बगेको छ गरिबको रगत त्यो तिम्रो अत्याचारले । ठगेको सहकारीले त्यो तिम्रो लाज छोपिने छैन,’ विष्टले भने । सहकारी ठगी र गरिबको रगत पसिनामाथि भइरहेको खेलबाड प्रति सरकार उदासीन रहेको उनको आरोप थियो ।
    राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गर्दै विष्टले १८ वर्ष मुनिका ३५ हजार बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै आपत्ति जनाए । ‘यो कुन पार्टी हो र कुन जातले बनेको पार्टी हो, कसैलाई थाहा छैन,’ उनले भने । रास्वपाको महाधिवेशनमा भएको मतदान प्रक्रिया र आन्तरिक लोकतन्त्रमाथि पनि उहाँले व्यङ्ग्य गरे । कूटनीतिक क्षेत्रमा पनि सरकार असफल भएको दाबी गर्दै उनले पासपोर्ट प्रकरणमा जर्मनीले नेपालको दूतावासलाई बोलाएर कडा प्रतिक्रिया दिएको सन्दर्भ उल्लेख गरे । देशमा महँगी बढेको, किसानले मलबीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको अवस्थामा सरकार सुशासनको रटानमा मात्र व्यस्त रहेको उनको आरोप थियो ।
    सांसद विष्टले २०७२ को संविधानलाई निकम्मा बनाउने षड्यन्त्र भइरहेको भन्दै त्यसको रक्षाका लागि सबै नेपाली सतर्क हुनुपर्नेमा जोड दिए । सरकारले फेसबुकमा स्टाटस लेखेर र अरूलाई गाली गरेर मात्र देश नबन्ने भन्दै राजनीतिक र कूटनीतिक संवादमार्फत समस्याको समाधान खोज्न सुझाव दिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्