बेहोस बनाउने औषधि प्रयोग गरी सर्वसाधारणको सुन, नगद र मोबाइल लुट्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना लुटपाटमा प्रत्यक्ष संलग्न रहेको तथा एक जना चोरीको सुन खरिद गर्ने सुन पसल सञ्चालक रहेको जिल्ला प्रहरी काभ्रे धुलिखेलले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी रविन कार्कीका अनुसार २०८३ असार १ गते बनेपा नगरपालिका–५ रविओपी बसपार्क अगाडि धुलिखेल–१ निवासी ५२ वर्षीया निरकुमारी घोरासाइँ बेहोस अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान शुरु गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनलाई बेहोस बनाएर शरीरमा लगाएका सुनका गरगहना, नगद तथा मोबाइल लुटिएको खुलेको प्रहरीले जनाएको छ ।
घटनास्थल वरपर जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज विश्लेषण गर्दा दुई जना पुरुषले महिलालाई नसालु पदार्थ सेवन गराई बेहोस बनाएपछि लुटपाट गरेको र बारदातमा रातो–कालो रंगको पल्सर मोटरसाइकल प्रयोग भएको देखिएको थियो । त्यसका आधारमा प्रहरीले असार ७ गते बुद्धकुमार श्रेष्ठलाई वारदातमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको थियो । पीडित महिलाले पक्राउ परेका व्यक्तिलाई सनाखत गरेपछि अनुसन्धान थप अघि बढाइएको थियो । प्रहरीका अनुसार बहाना बनाई पीडितलाई ‘फ्रुटी’ पिउन दिएका थिए । उक्त पेयमा नसालु पदार्थ मिसाइएकाले महिला बेहोस भएकी थिइन् । त्यसपछि उनको सुनका गरगहना र मोबाइल लुटिएको प्रहरीले जनाएको छ ।
बुद्धकुमार श्रेष्ठको बयानका आधारमा घटनामा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ निवासी ५३ वर्षीय केदार श्रेष्ठको संलग्नता खुलेपछि उनलाई असार ११ गते भक्तपुरको मध्यपुरठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा लुटिएको सुन भक्तपुरस्थित जय शिव शक्ति ज्वेलर्समा बिक्री गरिएको खुलेपछि प्रहरीले पसलमा खानतलासी गरेको थियो । त्यस क्रममा गालिसकिएको अवस्थामा चोरीको सुन बरामद गरिएको र पसल सञ्चालक दोलखा बिगु गाउँपालिका–४ निवासी ४६ वर्षीय नवराज घिमिरे (विक)लाई समेत पक्राउ गरिएको छ । तीनै जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानले पक्राउ परेका व्यक्तिहरू विगत दुई दशकदेखि यस्तै प्रकृतिका घटनामा संलग्न रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी राकेश थापाले जानकारी दिनुभयो । पक्राउ परेकाले विगतमा २०६५ सालमा पाल्पामा एक व्यक्तिलाई नसालु पदार्थ सेवन गराई लुटपाट गरेको मुद्दामा सजाय भोगिसकेको तथ्य खुलेको छ । त्यस्तैगरी तनहुँमा वृद्ध महिलामाथि सुन लुटेको, व्यास नगरपालिकामा अर्को महिलालाई बेहोस बनाई गहना लुटेको तथा काभ्रेपलाञ्चोकको बनेपा ७ धनेश्वर स्थित पुल नजिकै २०८३ बैशाख ७ गते तेन्डेल हाडवेयरको पछाडी रहेको रसिन पलाञ्चोक फर्निचर अगाडी मण्डनदेउपुर न.पा.वडा नं.०४ तिमल्सिना गाँउ बस्ने बर्ष ६९ को उदयनारायण तिमल्सिनालाई बैंक कँहा छ आईसी नोट साट्नु प¥यो भनि सोधपुछ गरी झुक्याई नसालु पदार्थ मिसाएको फ्यान्टा खुवाई बेहोस बनाई साथमा रहेको ७० हजार र सुनको औठी एक थान लुटपाट गरेको खुलेको छ । उक्त सुनको औठी गाली सकेको अवस्थामा पक्राउ परेका नवराज घिमिरे बिश्वकर्माको सुन पसलबाट बरामद भएको छ । प्रहरीले घटनाबाट सम्बन्धित सुनका केही अंश तथा नगद २० हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ । उक्त घटनाले लामो समयदेखि विभिन्न जिल्लामा सर्वसाधारणलाई झुक्याएर बेहोस बनाउने शैलीमा लुटपाट गर्दै आएको संगठित गिरोहको गतिविधि उजागर भएको प्रहरी प्रवक्ता सूचना अधिकारी एवं डिएसपी रविन विष्टले जानकारी दिनभयो ।
