अधिकंस युवा जमातमा नै हृदयघातका घटनाहरू दिन प्रतिदिन बढ्न थालेको कुरा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोँजुले अस्वस्थकर जीवनशैली खानपान यसको प्रमुख कारण बन्दै गएको बताउनुभयो । धुलिखेल अस्पतालमा पत्रकारसँग आयोजित ‘हृदयघात सेरोफेरो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै वहाँले मुटु रोगसम्बन्धी सचेतना अभिवृद्धि गर्न र समयमै उपचारमा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको बताए । धुलिखेल अस्पताल स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका प्रा. डा. कोँजुका अनुसार अस्पतालमा सन् २००३ देखि मुटु रोगको उपचार सेवा सुरु भएको हो । पछिल्ला पाँच वर्षयता भने मुटु रोगसम्बन्धी थप विशिष्टीकृत सेवाहरू प्रभावकारी रूपमा विस्तार गरिएका छन् ।
अस्पतालमा वार्षिक ४० हजारभन्दा बेसी बिरामी मुटुसम्बन्धी विभिन्न समस्याको उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । एन्जियोग्राम र एन्जियोप्लास्टी गर्ने बिरामीको संख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको उनको भनाइ छ । ‘युवावस्थामै हृदयघात हुने जोखिम बढ्नु चिन्ताको विषय रहेको बताउनुभयो । ‘अनियमित खानपान, शारीरिक निष्क्रियता, धूम्रपान तथा तनावपूर्ण जीवनशैलीका कारण युवाहरू पनि मुटु रोगको जोखिममा परिरहेका छन् ।’
नेपालका केही क्षेत्रमा अझै पनि मुटु रोगसम्बन्धी अन्धविश्वास कायम रहेको बताउँदै वहाँले समस्या देखिएपछि उपचार सम्भव हुँदैन भन्ने भ्रम त्याग्न आग्रह गर्नुभयो । लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनुपर्नेमा जोड दिए । प्रा. डा. कोँजुले मधुमेह, उच्च रक्तचापलगायतका दीर्घरोगहरूले पनि मुटुलाई प्रत्यक्ष असर गर्ने भएकाले यस्ता रोगलाई नियन्त्रणमा राख्न नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउनु पर्ने उल्येख गर्नुभयो ।
विश्व तथा नेपाल दुवै सन्दर्भमा मुटु रोगका बिरामीको संख्या बढ्दो क्रममा रहेको विभिन्न तथ्यांकले देखाएको उल्लेख गर्दै उनले आधुनिक उपचार पद्धति र स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै मुटु रोगका कारण हुने मृत्यु दर भने क्रमशः घट्दै गएको बताए । धुलिखेल अस्पतालको मुटुरोग विभागमा तीन जना विशेषज्ञ चिकित्सकसहित २५ जनाको टोली कार्यरत रहेका छन् । विभागले मुटु रोगको परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा उनले धूम्रपान त्याग्न, छाती दुख्ने वा अन्य शंकास्पद लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन तथा अव्यवस्थित जीवनशैली परिवर्तन गर्न सबैलाई सुझाउनुभयो ।
