IMG-LOGO

चैतन्य क्याम्पसको शैक्षिक अन्तरक्रिया कार्यक्रम

 मंगल, जेठ २६, २०८३  -

                बागमती प्रदेश सरकारले स्थापना गरेको प्रदेशकै पहिलो विश्वविद्यालय, बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा चैतन्य क्याम्पस बनेपाले सम्बन्धन प्राप्त गरेसँगै नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको तयारीका साथ अघि बेढको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजभाई मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न शैक्षिक, प्रशासनिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष मानन्धरले त्रिभुवन विश्वविद्यालय अन्तर्गत नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि धेरै पटक प्रस्ताव गरिए पनि स्वीकृति प्राप्त हुन नसकेको स्मरण गर्दै बागमती प्रदेश विश्वविद्यालयसँगको सहकार्यले चैतन्य क्याम्पसमा नयाँ अवसर सिर्जना भएको बताउनुभयो । वहाँले चैतन्य क्याम्पसले समयानुकूल विश्व बजारमा विक्ने र नेपालको माटो सुहाउँदो प्रविधिमैत्री शैक्षिक कार्यक्रम सञ्चालन गरी क्षेत्रीय उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्ने सोचका साथ अघि बढेको बताउनुभयो ।

                क्याम्पस प्रमुख जुजुभाई मानन्धरले सुचना र प्रविधिको युगमा विश्व सामाजिक परिवेसलाई समेत मध्यनजर गरी देशको सर्वाङ्गीण विकासलाई टेवा पुग्नेगरी नयाँ शैक्षिक कार्यक्रम ल्याएको बताउनुभयो । वहाँका अनुसार हाल स्नातक तहमा बीआईटी र बीएड (सेमेस्टर प्रणाली) का कक्षाहरू सञ्चालनमा रहेका छन् भने आगामी शैक्षिक सत्रदेखि बीबीए (Bachelor of Business Administration) तथा एलएलबी (Bachelor of Laws) कार्यक्रम सञ्चालन गरिनेछ ।

                अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नयाँ कार्यक्रमहरूको आवश्यकता, रोजगारी र बजारसँगको सम्बन्ध तथा विद्यार्थी आकर्षण बढाउने उपायबारे सुझाव दिएका थिए । सहभागीहरूले क्याम्पसले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ र अनुसन्धानमुखी वातावरण निर्माणमा थप ध्यान दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्राध्यापक भोला केसी, बागमती प्रदेशका पूर्व सचिव डा. चन्द्रप्रसाद लुईटेल, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर नेगी, सिद्धार्थ स्कुलका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेल, कानपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर भुजेल, इन्द्रेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल केसी, काभ्रे बार एसोसिएसनका अध्यक्ष हरिशरण दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, क्यान महासंघका उपाध्यक्ष शेखर दुलाल तथा पूर्व विद्यार्थी समाजका अध्यक्ष एसकुमार रञ्जित, सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक रमेशप्रसाद न्यौपाने लगायतले आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

                उपप्राध्यापक अग्नि ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा उपप्राध्यापक शारदा खनालले स्वागत मन्तव्य व्यक्त राख्नुभएको थियो । उपप्राध्यापक शिवओम दाहालले कार्यक्रमको उद्देश्य र नयाँ शैक्षिक कार्यक्रमका विषयमा जानकारी गराएका थिए । सहभागीहरूले सहज र सुलभ शुल्कमा सञ्चालन हुन लागेका यी कार्यक्रमले उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै बागमती प्रदेश सरकारले अनुसन्धान तथा परियोजनामा आधारित अध्ययनलाई प्रोत्साहन गर्न आवश्यक सहजीकरण गर्ने अपेक्षा समेत व्यक्त गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्