बनेपा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ । बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई प्रशंसा पत्र, नगद सहित सम्मान गरेको छ । नगर प्रमुख शाक्यले शैक्षिक स्तर विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सतप्रयास जरुरी रहेको बताउनुभयो । शाक्यले नगरले अपेक्षा गरेको नतिजा अझै नभएकोले आगामी वर्ष थप लगनशिल हुन आग्रह गर्नुभयो । गत बर्ष ८९ प्रतिशत उतिर्ण भएकामा यो वर्ष ८५ प्रतिशत मात्रै उतिर्ण भएकाले अझै सुधार गर्नुपर्ने देखीएको शाक्य कंथन रहेको थियो ।
६ जना विद्यार्थीहरुले ४ जिपिए ल्याउँदा २ जना सामुदायीक र ४ जना सस्थागत विद्यालयबाट ४ जिपिए ल्याएका थिए । कार्यक्रममा उप प्रमुख विमला सापकोटाले मेहनत, अनुशासन र निरन्तर अभ्यासकै कारण विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउँदै आगामी दिन झन थप मेहनत गर्नुपर्ने तर्क गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्ले, नगरपालिका शिक्षा शाखा प्रमुख उप–सचिब देवराज निरौला, संस्थागत विद्यालय तर्फ प्याब्सनका केन्द्रिय सचिबालय सदस्य हिरा शर्मा नेपाल, सामुदायीक विद्यालयको तर्फ बाट चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद पाण्डे लगाएतका ब्यक्तिहरुले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा ४ जिपिए ल्याउने ६ जना विद्यार्थीहरुलाई नगद १० हजारका दरले प्रमाणपत्र सहित सम्मान, शत्तप्रतिशत ल्याउने विद्यालयलाई सम्मान गरिएको थियो । नगरबाट १९ वटा संस्थागत विद्यालयले र ३ वटा सामुदायीक विद्यालयले शत्तप्रतिशत विद्यार्थीहरु उतिर्ण गराउन सफल भएका छन् । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रिन्सिपलहरु र अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठीले गर्नुभएको थियो ।
