नेकपा (एमाले) को केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ । आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।
यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो । अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाएका हुन् । कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इञ्चार्ज पनि तोकिएको छ ।
कार्य विभाजन अनुसार अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ । नौमध्ये छ सचिवलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । कोशीका लागि सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वययंसेवा विभागको प्रमुख, सचिव पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र सचिव भानुभक्त ढकाललाई सङ्गठन विभाग प्रमुख तोकिएको पार्टी कार्यालयले जनाएको छ ।
अन्य सचिवहरू छविलाल विश्वकर्मालाई इञ्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इञ्चार्ज, यमलाल कँडेललाई कर्णाली इञ्चार्ज, शेरधन राईलाई कोशी इञ्चार्ज, डा. राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इञ्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इञ्चार्ज तोकिएको छ । कार्यविभाजनअनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई तोकिएको छ । त्यस्तै विज्ञान तथा प्रविधि विभागमा सदस्य गोकुल प्रसाद बासकोटा रहेका छन् ।
काभ्रे जिल्लामा को–कस्लाई कहाँको जिम्मेवारी ?
काभ्रे जिल्लामा पनि एमाले काभ्रेका इन्चार्ज अशोक व्याञ्जु, युवा तथा खेलकुद विभाग तथा मिसन पार्टी जागरणमा अमित लामा र मिसन पार्टी जागरणमा रुक्मणी राना (बराईली) लगायतलाई जिम्मेवारी प्रदान गरिएको छ ।
