हङकङ रेडक्रस सोसाइटीसँग साझेदारी गर्दै मनोज गौतमले नेपालीहरूलाई ब्लड डोनेशन (रक्तदान)का लागि आग्रह गरिरहेका छन् । दुर्घटनामा जतिबेला पनि पर्न सकिन्छ, रगतको आवश्यक परेको खण्डमा विदेशी भूमिमा कसलाई गुर्हाने ? आफू स्वस्थ्य हुदा खेर जाने रगतको केही हिस्सा दान गरे आफू र आफ्नो परिवारलाई चाहिएको बखतमा सहज हुन्छ । मनोज भन्छन्, ’विदेशीहरू आफैं रेडक्रसमा आएर ब्लड डोनेशन गरेर जान्छन् तर नेपाली समुदायमा ब्लड डोनेशन गर्दा कमजोरी भइन्छ, यौन क्षमतामा कमि आउँछ लगायतका गलत धारणाहरूले गर्दा पनि जनचेतना जगाउनु, ब्लड डोनेशनका बारेमा चर्चा गर्नु आवश्यक छ ।
मनोजले आफ्नो अगुवाइमा नेपाल विश्व अभियान नामक ग्रुप गठन गरि रेडक्रसमा ब्लड डोनेशनका लागि आग्रह गर्नुभयो । सन् २०१८ बाट सुरु भएको यो अभियान २०२२ सम्म आइपुग्दा करिब १५० भन्दा बढी नेपालीहरूले निरन्तर ब्लड डोनेशन गरिरहेका छन् । आफ्नी बहिनीलाई ब्लड क्यान्सरले गुमाउँदाको पीडालाई नजिकबाट महसुस गरेका छन् मनोजले । बहिनीको आत्माले शान्ति पाओस् भन्दै मानवीय सुकर्मका लागि निस्वार्थ रूपमा, हङकङमा ब्लड डोनेशनका लागि नेपालीहरूलाई आग्रह गरिरहेको बताउँनु हुन्छ । निर्माण क्षेत्रमा सेफ्टी म्यानेजरका रूपमा कार्यरत मनोज हङकङ सरकारको निर्माण उद्योग प्रशिक्षण बोर्ड (सिआइसी) अन्र्तगत अल्पसंङख्यक जातजाती उपसमितीको वोर्ड सदस्य समेत हुन् । उसो त नेपालमा रहदा लाइन्स क्लब, राष्ट्रिय खेलकुद परिषद जस्ता संस्थाहरूमा आवद्ध मनोज रक्तदान, आँखा शिविर जस्ता कार्यक्रमहरूका आयोजनामा अग्रपक्तिमा बसेर काम गर्दै आउनुभएको छ ।
एकदशक अघि हङकङ आएका उनी सुरुवाती दिनमा सामान्य मजदुरकारूपमा निर्माण कम्पनीमा प्रवेश गरेका थिए । आफूसँगै काम गर्ने एकजना दिदीको रगतमै खराबी भएको र नेपाल फर्केर उपचार गर्दा पनि जीवन रक्षा गर्न नसक्दाको क्षण सम्झन्दा भावुक बन्छन् । मनोज भन्छन् जुन कुरा पैसाले किन्न सकिदैन, तर बाँच्नका लागि अनिवार्य छ, रगत । हामीले समयमा नै आफ्नो र परिवारको सहयोग र स्वास्थ्यका लागि पनि रगतलाई अनावश्यक खेर जान दिनु हुँदैन । हङकङको स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरूमा सरिक हुदा, नेपालीप्रति उनीहरूको सद्भावलाई अझ बढावा दिनपनि यस्ता सामाजिक कार्यमा सहभागी हुन सबैलाई आग्र गर्दै आउनुभएको छ ।
