जिल्ला बचत संघ काभ्रेले आ.व. २०८२÷०८३ को वार्षिक योजना अन्तर्गत आयोजित “ऋण लगानी व्यवस्थापन तथा नापी नक्सा सम्बन्धी दुई दिने तालिम” सनराईज रिसोर्ट, धुलिखेलमा सम्पन्न भएको छ । उक्त तालिममा विभिन्न सहकारी संस्थाका ऋण उपसमितिका पदाधिकारी तथा ऋण विभागमा कार्यरत कर्मचारी गरी जम्मा २२ जनाको सहभागिता रहेको थियो । उक्त तालिम संघका ऋण उपसमिति सदस्य बालकृष्ण दाहालको सभाध्यक्षता तथा भीम बहादुर खत्रीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्नुहुँदै सभाध्यक्ष दाहालले ऋण प्रवाह गर्दा सम्बन्धित समिति तथा कर्मचारीहरूले प्रचलित नीति, विधि तथा प्रविधिको प्रयोग गर्दै सुरक्षित र व्यवस्थित तरिकाबाट मात्र लगानी गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, ऋण उपसमिति सदस्य भीम बहादुर खत्रीले सहकारी संस्थाहरूमा देखिएको प्रमुख समस्यामध्ये भाखा नाघेको ऋण मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्नुहुदै लगानीपूर्व आवश्यक कागजात, नीतिगत व्यवस्था तथा जोखिमको गहन अध्ययन गरी मात्र लगानी गर्नुपर्ने बताउनुभयो ।
तालिम समापन सत्रमा संघका अध्यक्ष उदयराम कायस्थले सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो । संघका अध्यक्ष कायस्थले तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई व्यवहारमा प्रभावकारी रूपमा प्रयोग गर्न सके मात्र तालिमको उद्देश्य सफल हुने बताउनुभयो । तालिममा विषय विज्ञ प्रशिक्षकहरूको प्रभावकारी सहजीकरण तथा सहभागीहरूको सक्रिय सहभागिताका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो । तालिमको पहिलो दिन “भाखा नाघेको ऋण व्यवस्थापन” विषयमा संघका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकाल तथा सहायक कार्यकारी अधिकृत रवि कुमार के.सी.ले सहजीकरण गर्नुभएको थियो भने तालिमको दोस्रो दिन “नापी नक्सा” सम्बन्धी विषयमा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलका निर्देशक विज्ञान बञ्जारा तथा गृष्म प्रधानले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रम सञ्चालन तथा तालिम व्यवस्थापनको जिम्मेवारी संघका वरिष्ठ सहायक सुन्दिरा प्रधानले गर्नुभएको थियो ।
