आगामी फागुण २१ मा चुनाव नजिकिदैं जाँदा राजनीतिक दलका नेता कार्यकर्तालाई चुनावी सरगर्मी ह्वात्तै बढेको छ । निर्वाचन आयोगले आफ्नो कार्यतालिका बनाएर तयारी गरिरहेको छ भने दलका उम्मेदवारहरु पनि आआफ्नो पक्षमा नतिजा बनाउन तिब्ररुपमा लागेका छन् । माघ ६ गते मनोनयन दर्तासँगै दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरु गाउँ गाउँमा चुनावी अभियान होमिदैं मतदातासामू मत माग्न थालेका छन् । नेपाली कांग्रेसले काभ्रे क्षेत्र नम्बर–२ मा पनि यतिबेला चुनावी गतिविधि बनाउँदै आएको छ ।
कांग्रेसले क्षेत्र नम्बर २ को बनेपा, बेथानचोक, मण्डनदेउपुर, भुम्लु लगायतका पालिकाहरुमा कार्यकर्ता भेला तथा चुनाव प्रचारका कार्यक्रम गरिसकेको छ । पछिल्लो पटक माघ १७ गते भुम्लु गाउँपालिकामा पनि कांग्रेसले कार्यक्रम गर्यो । यहाँ जिल्लाका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । कांग्रेस उम्मेदवार मधुप्रसाद आचार्य आफूले जित्ने आधार तय भएको कांग्रेस पार्टी नयाँ ढङ्गबाट उर्जासिल युवावयस्क शक्ति सहित चुनावी यात्रामा दौडेकोले यसपटक कांग्रेसले बहुमत ल्याउने बताउनुभयो । भुम्लुको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पालिका उपाध्यक्ष एवं कांग्रेसका युवा नेता जितेन्द्रमान तामाङले मधु आचार्यलाई जिताउन भुम्लुवासी तिब्ररुपमा लागेको बताउनुभयो ।
