धुलिखेल अस्पतालको स्वास्थ्य सेवा विस्तारसँगै शनिबार समेत स्वास्थ्य लाभ लिन सकिने भएको छ । धुलिखेल–गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन विस्तार गर्दै धुलिखेल अस्पतालले बहिरंग सेवा (ओपीडी) को सञ्चालन समयको विस्तार गरेको छ । बिहानी एवं दिउँसोको समयमा कामकाजमा व्यस्त रहने सेवाग्रही (विशेषगरी कार्यालयमा सेवारत समूह) एवं उक्त समयमा कार्य–व्यस्तताका कारण अस्पतालसम्म आइ स्वास्थ्य सेवा लिन नसकेका सेवाग्रहीहरूलाई लक्षित गरी धुलिखेल अस्पतालले आफ्नो नियमित ओपीडी सेवाहरू दुई घण्टाले बढाएको हो । नयाँ ओपीडी सञ्चालन तालिका अनुसार बिहान ८ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म हुने अस्पतालले आइतबार पत्रकार सम्मलेन गरी जानकारी दिएको हो । यस अघि ओपीडी सेवा बिहान ९ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
यसको अलावा धुलिखेल अस्पतालले विगत केही हप्तादेखि शनिबार पनि ओपीडी सेवा सञ्चालन गर्दै आएको छ । अन्य दिन कार्यालय वा दैनिक व्यस्तताका कारण बहिरंग सेवा (ओपीडी) सेवा लिन नपाएका सेवाग्रहीहरुलाइ दृष्टिगत गरी यस अस्पतालले शनिबार समेत बिहान ९ः०० बजे देखि अपराह्न १ः०० बजे सम्म बहिरंग सेवाहरूको थालनी गरिएको अस्पतालका निर्देशक प्रा.डा. बलराम मल्लले जानकारी दिनुभयो । विस्तारित सेवा अर्थात् अन्य दिनका अपरान्ह सत्रको ओपीडी सेवा (४ः०० देखि ६ः०० बजे सम्म) र शनिबारीय बहिरंग सेवा (ओपीडी) सेवाहरूमा नेपाल सरकारको स्वास्थ्य बीमा सेवा लागु नहुने अस्पताल प्रशासनले जनाएको छ ।
