काठमाडौं । साहित्यकार प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्र्रधान, डा.सृजना शर्मा, लेखनाथ हुमागाईं, छविरमण सिलवाल र नियात्राकार सापकोटा लगायत साहित्यकारले उक्त कृति सार्वजनिक गरे ।
कृति सार्वजनिक गर्दै प्रा.डा. गौतमले यात्रा संस्मरण या नियात्रा लेख्दा ढाँट्ने छुट लेखकलाई नभएको यसमा प्रदीप इमान्दार भएको बताए । सत्यतथ्यमा आधारित रहेर निबन्धात्मक यात्रा संस्मरण लेखिनुपर्नेमा जोड दिए । प्रदीपको नियात्राले आफुलाई तानेको उनले बताए ।
उनले पछिल्लो समय नियात्रा लेखनमा विकृति आएको चर्चा गरे । सिर्जनाको स्तरीयतामा नियात्रा लेख्ने लेखकले ध्यान पु¥याउनुपर्ने उनले बताए । साहित्यकार तथा समीक्षक प्रमोद प्रधानले सार्वजनिक कृतिको समीक्षा गर्दै यात्रा निबन्ध, नियात्रा र यात्रा संस्मरणबारे चर्चा गरे । उनले यात्रा निबन्धमा चित्रात्मक गति हुनुपर्नेमा जोड दिए । प्रदीपको यात्राकृतिमा गति रहेको उनले उल्लेख गरे ।
अर्का समीक्षक डा. सृजना शर्माले कृतिकारले पाठकलाई मेची, महाकाली मात्र नभएर सीमापारिको दार्जिलिङ पनि घुमाएको बताइन् । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए । पछिल्लो समय यात्रा साहित्यका लेखक मात्र नभई पाठक पनि बढ्दै गएको उनको भनाइ छ ।उनले सापकोटाका कृति निजात्मक भावले ओतप्रोत रहेको बताए ।
सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रकाशक केशव पराजुली, साहित्यकारहरू पवन आलोक, किशोर पहाडी, लेखनाथ हुमागाईं, राधेश्याम लेकाली, तारा केसी, छविरमण सिलवाल र कृतिकार सापकोटाले आफ्ना धारणा राखे ।
