काठमाडौँ, माघ ११ गते । सामुदायिक सेवा समाजअन्तर्गत सामुदायिक योग समूह, मैजुबहाल– कुमारीगालले काभ्रेपलाञ्चोक जिल्ला पनौतीमा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई लत्ताकपडा, सरसफाईका सामग्री वितरण तथा भोजन अर्पण कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
उक्त आश्रममा आश्रित ४० जना जेष्ठ नागरिकप्रति लक्षित कार्यक्रममा बोल्दै सामुदायिक योग समूहकी मुख्य प्रशिक्षक सुनिता शर्मा अर्याल भन्छिन् “हामी सर्वप्रथम आफ्नो स्वास्थ्यमा सजग छौँ, त्यस्तै सेवामा समेत समर्पित भइ लागिपरेका छौँ । नियमित व्यायाम र योगाभ्यासले हामीलाई स्वास्थ्य र मानवीय सेवा कार्यमा अघि बढ्न हौसला मिलेको छ ।” उक्त योग समूहले काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिल मैजुवहाल– कुमारीगालस्थित शहीदस्मृति सामुदायिक भवनमा विगत साढे २ वर्षदेखि निरन्तररूपमा बिहान ५ः१५ देखि ६ः३० बजेसम्म योगाभ्यास सञ्चालन गर्दै आइरहेको छ ।
सामुदायिक सेवा समाजकी कार्यवाहक अध्यक्ष विनु क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम श्री प्राणनाथ माइती वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाको सभापतित्वमा भएको थियो । आश्रमका वृद्धाबृद्धहरूले काठमाडौँबाट आफ्ना माइती आएको अनुभूति गरिरहेको महसुस भएको बताउँदै सहभागि सबैलाई पूजाअर्चनासहित भक्तिसङ्गीतसहित स्वागत गर्दै भने, “जुन उद्देश्यका साथ सहयोगी मन बोकेर यहाँसम्म आइपुग्नुभयो, सबैजना धन्यवादको पात्र हुनुहुन्छ ।” भन्नुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवी रामचन्द्र तिमिल्सिना, पनौती विकास समाजका अध्यक्ष सुरेश सैजु, सामुदायिक योग समूहकी कोषाध्यक्ष सोभना क्षेत्री, सामुदायिक सेवा समाजका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिना, जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाललगायतको आतिथ्यता रहेको थियो । स्मरणरहोस्, उक्त योग समूहले गत वर्ष काभ्रे जिल्लाको बेथानचोकमा बाढीपीडित परिवारहरूलाई खानेपानी पाइप वितरण समेत गरेको थियो ।
