काभ्रेमा उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिबीच निर्वाचन आचारसंहिताबारे छलफल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा सहभागीले कडाईका साथ निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा सबैमा एकमत देखिएको छ । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्वर २ का अधिकृत न्यायाधीश प्रेमप्रसाद न्यौपानेले निर्वाचन आचारसंहिताबारे जानकारी गराउनुभएको थियो । यस्तै क्षेत्र नम्वर १ का निर्वाचन अधिकृत जिल्ला न्यायाधीबक्ता टिकाभुषण घिमिरेले सञ्चार माध्यमले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता बारे प्रस्त पार्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, सुरक्षा निकायका प्रमुखहरुले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध रहेको उल्येख गर्नुभयो । छलफलमा सामाजिक सञ्जालबाट हुने अफवाह, भ्रम प्रवाह प्रचार रोक्नुपर्नेमा सहभागीले ध्यानाकर्षण गराएका थिए ।
नेपाली कांग्रेस काभ्रेका उप–सभापति रमेश हुमागाँईले राष्ट्रिय झण्डाको जथाभावी प्रयोग नगर्न अनुरोध गर्नुभयो । नेकपा एमालेका प्रतिनिधि एवं जिल्ला कमिटी सदस्य नवराज ढकालले फिजिकल भन्दा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघन रोक्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । प्रविधिको गलत प्रयोगको शुक्ष्म निगरानी गर्नुपर्ने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रविण ढकाल, जीएन सापकोटा लगायतले सरकारी सवारीसाधनको प्रयोगलाई पूर्णरुपमा रोक्नुपर्ने जनाएका छन् । समाबेसी समाजबादी पार्टीका उम्मेदवार विनोद लामा (अन्य) ले प्रचारप्रसारका क्रममा आफुहरुमाथी हुने विभेदलाई रोक्न आग्रह गरेका छन् । नेमकिपाकी काभ्रे क्षेत्र नं. २ की उम्मेदवार मुना तामाङले आर्थिक पारदर्शिता, आचारसंहितको पूर्णपालना लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो । निर्वाचन आचारसंहिता–२०८२ को दफा ३० ले प्रत्येक जिल्लामा अनुगमन समिति रहने व्यवस्था गरेको छ । मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा, प्रमुख जिल्ला अधिकारी सहसंयोजक, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी बल जिल्लास्थित प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, अनुगमन अधिकृत सदस्य र निर्वाच कार्यालय प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ । सबै निकायका प्रमुखहरुले जिम्मेवारी पुरा गर्न लाग्नुपर्ने छ ।
