काभ्रे जिल्ला डजबल संघको प्रथम अधिवेशन तथा साधारण सभा मंगलबार बनेपामा सम्पन्न भएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद संघ काभ्रेका अध्यक्ष मानवीर वाइवाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल डजबल संघका केन्द्रीय सदस्य रामचन्द्र गौतम तथा नेपाल डजबलका अधिवक्ता केशव राज गौतमको उपस्थिति रहेको थियो । कार्यक्रममा वागमती प्रदेश डजबल संघका अध्यक्ष महेन्द्र बिष्टले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै विद्यालय तहबाटै फुटबल र भलिबलजस्तै डजबल खेलको महत्वबारे विद्यार्थीहरूलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्ला केही महिनाभित्र जिल्लाका दर्जनभन्दा बढी विद्यालयमा डजबलसम्बन्धी जानकारी प्रदान गरिसकिएको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बन्दै गएको डजबल खेललाई प्रत्येक विद्यालयमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले सुरुमा डजबल खेलबारे आफूलाई जानकारी नभएको स्मरण गर्दै यस खेलको विकासका लागि आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी, जिल्ला बचत संघ काभ्रेका सचिव राजन अधिकारीले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो । विशेष अतिथि जिल्ला खेलकुद संघ काभ्रेका अध्यक्ष मानवीर वाइवाले खेलकुदको महत्वबारे चर्चा गर्दै नेपालमा विकासको चरणमा रहेको डजबल खेलप्रति जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले यस अभियानमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
अधिवेशनले रामचन्द्र देउजाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा पृतम गङ्गाई, उपाध्यक्षमा सुविन मानन्धर र उत्तम सापकोटा तथा सचिवमा ओमकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी, कोषाध्यक्षमा विजय मुस्याजु, सह–सचिवमा साजन घिमिरे, सह–कोषाध्यक्षमा खेम थापा तथा सदस्यहरूमा दिपेन्द्र बिष्ट, मदन ढुङ्गाना, मिलन आचार्य, स्वेजल श्रेष्ठ, नेत्र बडाल, जनक तामाङ र दिपा बिष्ट चयन हुनुभएको छ । कार्यक्रम नवनिर्वाचित अध्यक्ष रामचन्द्र देउजाको सभापतित्वमा सम्पन्न भएको थियो ।
