भारत अंग्रेजÞबाट मुक्त भए पछि नेपाल भारत सम्बन्ध आधुनिक सम्बन्धको शुरूवात भएको हो । इतिहासदेखि नै नेपाल–भारत सम्बन्ध जटिल रहँदै आएको छ । बाहिर अर्थात आवरणमा देख्दा नेपाल–भारत सम्बन्ध शान्तिपूर्ण र भाइचाराको जस्तो देखिए पनि भित्री सम्बन्ध त्यस्तो भने छैन । बाहिर सामाजिक रुपमा शान्त नै छ । तर राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा परनिर्भरता र कुटनीतिक रुपमा काम चलाउ भएका कारण नेपाल भारत सम्बन्ध घनिष्ठ छैन । नेपालको भारतसँगको सम्बन्ध बराबरीको हुनुपर्ने थियो किनभने यि दूई देश धर्म संस्कृतिमा समान छन् ।
भारतको नेपालप्रतिको दृष्टिकोण र नेपालको भारतप्रतिको परनिर्भरताले गर्दा नेपाल–भारत बीच सह–अस्तित्वको सम्बन्ध बन्नै सकेन् । कुनै पनि राष्ट्र परनिर्भर भएपछि उसको सार्वभौमसत्ता समेत खुम्चिन्छ । संविधान निर्माण, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता सीमा समस्या, नागरिकता सम्बन्धी ऐन जस्ता कुरामा भारतले अनावश्यक चासो मात्रै होईन हस्तक्षेपकारी निति लिएको देखिएको मात्र होइन प्रत्यक्ष कतिपय अवस्थामा त बल मिच्याइँ समेत गरेको देखिन्छ । भारतको यस्तो बल मिच्याइँलाई नेपालले सहँदै जाने हो भने नेपालको सार्वभौमसत्ता अझै खुम्चिन्छ । के थाहा आज अमेरिकाले भेनेजुएला माथि आक्रमण गरे जस्तो भारतले नगर्ला भन्ने के ग्यारेन्टी ?
कालापानी, लिपुलेक र सुस्ता जस्ता सीमा समस्या पटकपटक दोहोरिएका छन् । जुनसुकै पार्टीको सरकार बने पनि नेपाल–भारत सम्बन्धमा नीतिगत तहमा ठूलो अन्तर हुँदैन । भारतको नेपालप्रतिको नीति नेपाललाई आफ्नो छत्रछायाँमा राख्ने नै हो । तर व्यक्तिहरुका फरक स्वभाव हुने भएकाले कार्यगत तहमा को प्रधानमन्त्री छ भन्ने कुराले पनि फरक चाहिँ पार्छ र बेलाबेला सम्बन्धमा उतार चढाव पनि आउने गर्छ । विदेश मामिलामा निकै चातुर्य ठानिएको मोदीको कार्यकालमा नेपाल निकै उचार–चढाव भएको छ । हुन त नेपाल–भारत सम्बन्धमा यस्तो उतार–चढाव आज मात्र होइन, परम्परादेखि चल्दै आएको हो र संभवत भोलिका दिनमा पनि यसैगरी चल्नेछ, जबसम्म नेपाल आर्थिक रुपमा आत्मनिर्भर हुँदैन र नेताहरु राजनीतिक रुपमा स्वभिमानी हुँदैनन् । वर्तमान सन्दर्भमा नेपाल–भारत सम्बन्धको कुरा गर्दा चारवटा कोणबाट विश्लेषण गर्नु जरुरी छ– आर्थिक सामाजिक सम्बन्ध, कुटनीतिक सम्बन्ध, भारतीय चिन्तन र नेपाली मानसिकता । यि चार कोणबारे आगामी दिनमा चर्चा गर्दै जानेछु ।
