पनौती, काभ्रे । सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण साकोसको संयुक्त आयोजनामा ’साहित्यसँग सहकारी र पर्यटन विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काभ्रेको पनौतीमा आयोजित एक कार्यक्रममा वक्ताहरुले सहकारी र पर्यटनसँग साहित्यको अन्योन्याश्रित सम्बन्ध भएको बताए । सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिं को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन् । पत्रकार राजेश खनालको सहजीकरणमा भएको उक्त कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यकार एवं पर्यटन व्यवसायी प्रदीप सापकोटा र सहकारीकर्मी श्यामहरि सापकोटाले उक्त अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए । उनीहरुले सहकारीले साहित्य र पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने बताए ।
छलफलमा सहभागी हुँदै समालोचक तथा साहित्यकार प्रा.डा. गौतमले भने ’सामुहिक भावनाबाट जन्मेको सहकारी वर्तमान अबस्थामा विचलन नभैकन राम्रा कार्यहरु गरिरहनु आफैमा उल्लेखनीय भएको छ ।’ उनले साहित्यकारले अनुभूत गरेका कुराहरु लेख्ने भएकोले संस्थागत प्रचारमा पनि साहित्यको भूमिका बढ्ने बताए । सहकारी आर्थिक कारोबार मात्र नभई साहित्यको सेवा गर्न पनि सक्षम छ भन्ने प्रस्तुत कार्यक्रमले स्पष्ट पारेको प्रा.डा.गौतमले बताए । काभ्रेको पनौतीमा आयोजित अन्तरक्रिया कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ’रोदन’ले साहित्यको उन्नयन र विकासमा सहकारीले धेरै योगदान गर्न सक्ने बताए । उनले पर्यटनको विकासमा साहित्यको महत्वपूर्ण योगदान रहेको बताए ।
हिजोका परिकल्पना आज व्यवहारिक प्रयोग भएको भन्दै उनले साहित्य,पर्यटन र सहकारीलाई संगै जोडेर लैजानुपर्नेमा जोड दिए । पर्यटन व्यवसायमा समेत संलग्न साहित्यकार प्रदीप सापकोटाले साहित्यले पर्यटनको बिकास हुने बताए । उनले साहित्यले पर्यटनको विकासमा योगदान गर्नसक्ने भन्दै यसको निम्ति सम्बन्धित पक्षले पहलकदमी लिनुपर्ने बताए । श्यामहरि सापकोटाले साहित्य र पर्यटनको विकासमा सहकारीको भूमिका अहं रहेको बताए ।उनले साहित्यिक कार्यमा सहकारीको सहयोग रहँदै आएको उल्लेख गरे । उक्त कार्यक्रममा कवि पवन आलोक, छविरमण सिलवाल, श्रीओम श्रेष्ठ ’रोदन’, प्रदीप सापकोटा, मधु पाठक, सुमन सौरभ, पूर्णबहादुर श्रेष्ठ, लोकनाथ सापकोटा, रामसुन्दर देउजा लगायतका कविहरुले आफ्ना सृजनाहरु बाचन गरे ।
शंकर भारती, बालकृष्ण तामाङ लगायतले पनि आफ्ना धारणाहरु राखेको उक्त कार्यक्रमको अध्यक्षता रामचन्द्र सापकोटाले गरेका थिए । जनमैत्रीका उपाध्यक्ष सापकोटाले सुन्दर कार्यक्रम भएको टिप्पणी गर्दै आगामी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए । श्यामहरि सापकोटाको स्वागत एवं कोषाध्यक्ष तिर्थराज सापकोटाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा जनमैत्री साकोसका प्रमुख व्यवस्थापक बेदप्रसादले जनमैत्रीको वर्तमान अबस्थाको बारेमा प्रकाश पारे । कार्यक्रमको औचित्यबारे सुनकोशीका अध्यक्ष छविरमण सिलवालले प्रकाश पारेको उक्त कार्यक्रममा साहित्यकार एवं अन्य सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।
