निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर कार्यसमितिको दोस्रो नगर परिषद् २०८२ बिहीबार सम्पन्न भएको छ । प्याब्सन केन्द्रिय उपाध्यक्षद्वय आशिष श्रेष्ठ र रविन शर्माको प्रमुख आतिथ्यता तथा प्याब्सन बनेपा नगरसमितिका अध्यक्ष महेन्द्र बिष्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि तथा प्याब्सन केन्द्रिय उपाध्यक्ष आशिष श्रेष्ठले निजी विद्यालयहरूले जथाभावी शुल्क लिन्छन् भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै अभिभावकहरूसँग नियमित अन्तरक्रिया गरी शुल्कको औचित्य स्पष्ट पार्न आवश्यक रहेको बताउनुभयो । अर्का केन्द्रिय उपाध्यक्ष रविन शर्माले विद्यालयहरू निरपेक्ष ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रका संघसंस्थाहरू क्रमशः कमजोर बन्दै, घट्दै र विस्थापित हुँदै गएको अवस्थामा पनि विद्यालयहरू सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्याब्सन केन्द्रिय उपमहासचिव भिमसेन केसीले कठिन परिस्थितिमा समेत शिक्षा र स्वास्थ्य राज्यको प्राथमिकतामा पर्ने क्षेत्र भएको धारणा राख्नुभयो । प्याब्सन काभ्रेपलाञ्चोक अध्यक्ष श्याम कुमार भुजेलले जेन–जी आन्दोलनपछि संस्थागत विद्यालयलाई अगाडि बढाउन प्याब्सन काभ्रेपलाञ्चोकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पनौती प्याब्सन अध्यक्ष रामचन्द्र देउजाले प्याब्सन विभिन्न बाधा–व्यवधान चिर्दै निरन्तर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्याब्सन बनेपा नगर समिति अध्यक्ष महेन्द्र बिष्टले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय सचिवालय सदस्य हिरा शर्मा नेपाल, केन्द्रिय परिषद् सदस्य रवि वैद्य, केन्द्रिय सदस्य पूर्ण कुमार श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य सत्य नारायण श्रेष्ठ, बागमती प्रदेश उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, केन्द्रिय सदस्य राममणि सापकोटा, पूर्व जिल्ला अध्यक्ष दिलिप मुखिया, प्याब्सन बनेपा सल्लाहकार कुमार मानन्धर लगायत प्याब्सन पदाधिकारीहरूको आतिथ्यता रहेको थियो ।
