जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा संघ, प्रदेश र स्थानीय तह बिच समन्वय र सहजिकरणका बारेमा अन्तरक्रिया कार्यक्रम आइतबार धुलिखेलमा सम्पन्न भएको छ । प्रमुख अतिथी वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अब बन्ने प्रदेश सरकारको बजेट प्रदेश सदस्यले ल्याएका योजनामा केन्द्रीत हुने र कसैका झोलाबाट आएका योजनामा बजेट नछुट्याउने प्रष्ट पार्नुभयो । उहाँले नागरिकका आवश्यकताका आधारमा बजेट ल्याइने र ५० लाखसम्मका योजनालाई प्रदेश सरकारले नहेर्ने जानकारी दिँदै एक करोडभन्दा बढीका योजनालाई मात्र सरकारले प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो । विशेष अतिथि प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले आफ्नो मन्त्रालय मातहतका योजनाहरुमा आवश्यक बजेट कसरी विनियोजन गराउने भन्नेमा आफू सधैं लागिरहेको बताउनुभयो । कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, बनेपा नगरका प्रमुख शान्तिरत्न शाक्य, चौंरीदेउरालीकी अध्यक्ष रेणुका चौंलागाईं, मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा,खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, भुम्लुका अध्यक्ष प्रेमबहादुर भुजेल, नमोबुद्धका मेयर कुन्साङ लामा, पाँचखालका मेयर महेश खरेल, महाभारतका अध्यक्ष कान्छालाल जिम्बा, धुलिखेलका उपप्रमुख निराजन जंगम, खानीखोलाका उपाध्यक्ष दोर्जेमान जिम्बा, बनेपाकी उपप्रमुख बिमला सापकोटा दाहालले आ–आफ्नो पालिकामा भएका समस्या मुख्यमन्त्री समक्ष राख्दै समाधान गर्न आग्रह गर्नुभएको थियोे । कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकलाई सहज तरिकाले सेवा प्रदान गर्न सबै पालिकाहरुलाई आग्रह गर्नुभयो । जिसस उपप्रमुख रिमबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम जिसस प्रमुख दीपक गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
केयू ग्लेसियर कलेजको अभिमुखीकरण तथा उत्कृष्टलाई सम्मान
काठमाडौं विश्वविद्यालय ग्लेसियर कलेज बनेपाले विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गर्नुको साथै उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एशोसिएट डिन डा.खगेन्द्र आचार्यको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
कार्यक्रममा प्रिन्सिपल इन्दु थापा, कलेज हस्पिटालिटी कोअर्डिनेटर आशा थापा मगर, कोअर्डिनेटर अनुप विष्ट, धुलिखेल लज रिसोर्टकी जुलिया माकजु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, विद्यार्थी झलकमान विक लगायतले ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटी कार्यक्रम महत्व, उपयोगीताको प्रभाव, विद्यार्थीहरुको रोजाई र सम्भावित रोजगारीको अवसरका बारेमा मन्तव्य राख्नुभएको थियो ।
बेलर इन्टरनेशनल एकेडेमिमा ब्याचलर लेभलको होटेल म्यानेजमेन्ट सम्बन्धि बिपिएच (ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटी) कार्यक्रम ५ वर्ष अघि प्रारम्भ भएको हो । कलेजका अध्यक्ष भोला थापाले देशमा पर्यटन क्षेत्र होटल व्यवसायको प्रचुर सम्भावना रहेकाले बिपिएच ९द्यएज्० तह उत्तीर्ण गरेकाहरुको लागि रोजगारीको अवसर हुने बताउनुभयो ।
