पनौती नगरपालिका–५, काभ्रे । सुब्बागाउँ कृषि सहकारी संस्था लि.को ९ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक समिति सदस्यसुमन नेपाल, विशिष्ट अतिथि केन्द्रीय कृषि सहकारी संघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्रसाई, अतिथि तथा स्रोत व्यक्तिका रूपमा राष्ट्रिय सहकारी बैंक लिमिटेड, बनेपा शाखाका प्रमुख उपेन्द्र दाहाल, जिल्ला सहकारी संघ काभ्रेका सञ्चालक समिति सदस्य पूर्णसागर रञ्जित लगायतको उपस्थिति रहेको थियो । साथै निर्वाचन समितिका संयोजक रमिला कुमारी हुमागाई, सहकारीका शेयर सदस्य, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
साधारण सभामा बैंकका शाखा प्रमुख उपेन्द्र दाहालले “सहकारीमा सदस्यको भूमिका” विषयमा तथा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य पूर्णसागर रञ्जितले “सहकारी सदस्यहरूका लागि बीमाको महत्व” विषयमा प्रस्तुति राख्नुभएको थियो । सभामा संस्थाकाअध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदनपेश गरियो । ती प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी आवश्यक सुझावसहित सर्वसम्मत रूपमा पारित गरियो । यसै क्रममा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा गर्नुका साथै आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित कार्यक्रम तथा बजेटलाई पनि छलफल पछि अनुमोदन गरिएको थियो ।
साधारण सभाले सहकारीको सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले विनियम २०८२ तथा आर्थिक प्रशासनिक नियमावली, सम्पत्ति शुद्धीकरण निवारण, ऋण लगानी–असुली, बचत सम्बन्धी, तथा कर्मचारी सेवा–सुविधा एवं शर्त सम्बन्धी आन्तरिक कार्यविधि २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ । सभामा सहकारीको गतिविधिमा सक्रिय, अनुशासित तथा उदाहरणीय योगदान पुर्याढउने शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । उत्कृष्ट ऋणीराम बहादुर भुजेल, उत्कृष्ट कारोबारी शेयर सदस्यनविन श्रेष्ठ, उत्कृष्ट ज्येष्ठ नागरिक शेयर सदस्यशेर बहादुर श्रेष्ठ, उत्कृष्ट नियमित बचतकर्ता यज्ञ बहादुर श्रेष्ठ तथा उत्कृष्ट बाल सदस्यरिया श्रेष्ठलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । त्यस्तै ऋण असुली समितिका सदस्यद्धारिका पोखरेलरपेमा लामासहित संस्थाको कार्यसमितिका सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी सहकारी ऐन २०७४ बमोजिम सम्पन्न सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनमा सबै पदमा आवश्यक पदसंख्या बराबर नै उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारीहरू चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचितभएका छन् । निर्विरोध निर्वाचित सञ्चालक समितिमा अध्यक्ष पदमा रामचन्द्र न्यौपाने, उपाध्यक्षमा दिपेश न्यौपाने, सचिवमा सरिता थापा के.सी., कोषाध्यक्षमा सबिता हुमागाई, सदस्यमा श्याम कृष्ण श्रेष्ठ, विनोद के.सी., अप्सरा के.सी., सबिना थापा र नविन श्रेष्ठ रहेका छन् भने निर्विरोध निर्वाचित लेखा सुपरिवेक्षण समितिमा संयोजकमा नवराज खनाल, सदस्यमा राम शोभा थापा र पुजा श्रेष्ठ रहेका छन् ।
