बनेपा÷आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको १६ औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ सदस्य सम्मान गरेको छ । मुख्य कार्यालय बनेपा र सेवा केन्द्र अन्तर्गत भकुण्डे र पनौती क्षेत्रका १ सय ९७ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिनुका साथै इलेक्ट्रीक हिटर वितरण गरिएको कुरा संस्थाका प्रमुख व्यवस्थापक सुवाश बैद्यले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादेले ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्नुभएको हो । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटाले मन्तव्य राख्नुभएको थियो ।
संस्थापक अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, अध्यक्ष ग्रुबेन तौजले ज्येष्ठ नागरिकको सल्लाह, सुझाव र नयाँ पुस्ताको चाहना अनुसार काम गरिरहेको जनाउनुभयो । स्वास्थ्य शिविर, पर्यावरण संरक्षण लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गरिरहेको संस्थाका उपाध्यक्ष प्रकाश कायष्ठले बताउनुभयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सचिव धर्मभक्त प्रधानले ज्येष्ठ सदस्यका सन्दर्भमा संस्थाले गरेका गतिविधिका बारेमा बोल्नुभएको थियो । संस्थाले हरेक महिना ५ सय रुपैयाँ बचत गर्ने ज्येष्ठ सदयलाई सम्मान गर्दै आएको छ । ज्येष्ठ सदस्य मध्ये उत्कृष्ट बचत गर्ने ज्येष्ठ सदस्य भैरव बहादुर श्रेष्ठलाई उत्कृष्ट सदस्यको रुपमा सम्मान गरिएको छ ।
