IMG-LOGO

साँगा–बनेपा पुलबजार धुलिखेल सडकखण्ड क्षेत्र अवरुद्ध कार्य पुनः सञ्चालन हुने

 मंगल, मंसिर १७, २०८२  – रमेशप्रसाद न्यौपाने

     साँगा–धुलिखेल बनेपा पुलबजार ६ लेन सडक विस्तार कार्य स्थानीयको अवरोधको कारण अवरुद्ध कार्य पुनः सहमती पछि निर्माण कार्य अघि बढ्ने भएको छ ।

     बनेपा अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड ६ लेन सडक स्तरोन्नतिअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारमा बनेपाको पुल बजार क्षेत्रमा अवरुद्ध भएको काम सञ्चालन हुने भएको छ । निर्माण कार्य प्रारम्भ भएको १ वर्षदेखि अवरुद्ध काम अब सञ्चालन हुने भएको हो । मंसिर १४ गते नगरपालिकामा पीडित सरोकार पक्ष, सडक निर्माण कम्पनी र बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने लगायतबिच काम सञ्चालन गर्ने सहमति भएको हो । अब कामले निरन्तरता पाउने बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो ।

     सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत साँगा– धुलिखेल सडकखण्डको ‘डिजिटल’ नापी नक्सा लागू भइसकेकाले सोही नक्सालाई आधार मानी सडक सीमाक्षेत्र कायम गर्ने तथा रेखाङ्कन गरी अवरुद्ध निर्माण खुलाउने निर्णय गरिएको जनाउनुभयो ।

     बैठकमा सडक सीमाभित्र ‘डिजाइन स्ट्यान्डर्ड’ नघट्ने गरी  निर्माण अघि बढाउने निर्णय भएको जनाइएको छ । कार्यक्रममा सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतो, बनेपा नगरप्रमुख शाक्य, उपप्रमुख विमला सापकोटालगायत विभिन्न वडाका वडाध्यक्ष, सरोकारवाला स्थानीय, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप बैद्य, जिल्लास्थित नापी कार्यालयका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिको उपस्थिति रहेको थियो । स्थानीयले नगरमा अरनिको राजमार्ग वरिपरी क्षेत्र ओगटेको सबै स्थानमा एकरूपता कायम गरी काम अघि बढाउनुपर्ने र ढलको व्यवस्थापन गर्नुपर्ने विषयमा नगर र आयोजनासँग माग गरेका थिए ।

     यसैबीच अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक– धुलिखेल सडकखण्ड स्तरोन्नतिअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तारको समयसीमा तीन हप्ता बाँकी छ । सम्झौताअनुसार बाँकी दुई हप्ताको म्याद रहँदा ५० प्रतिशत विस्तार अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने गरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सम्म पहिलो खण्ड साँगा–धुलिखेल आठ किलोमिटर सडक विस्तार विसं २०७९ मङ्सिर २७ गते सम्झौता भएको थियो ।

     उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो । करिब तीन वर्षको अवधिमा ५० प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ । आयोजनाले सूर्यविनायकदेखि धुलिखेलसम्मको दुई खण्डमा करिब ५० प्रतिशत काम भएको जनाएको छ । साँगा–धुलिखेल पहिलो खण्डमा ५० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा भने ४५ प्रतिशत काम सकिएको आयोजना प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो । आयोजना प्रमुख महतोका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी रहेकाले केहि ढिला काम गर्न सक्छ ।

     सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७.५ किमी विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त सडक खण्डको ठेक्का अवधि पनि २०८२ पुष १८ गते म्याद सकिँदै छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्