महिला स्वास्थ्य र मानसिक सशक्तिकरणलाई केन्द्रबिन्दु बनाएर आयोजना गरिएको “कस्तो छ साथी ? –भाग २” कार्यक्रम शनिबार काठमाडौँको गौशाला स्थित अनुपम फुड ल्याण्डमा सम्पन्न भएको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ आइ नेपाल, एरिया–२ अन्तर्गत रिजन ३ र ४ का सम्पूर्ण जोन तथा क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य र मानसिक सशक्तिकरण विषयमा विस्तृत छलफल गरिएको थियो ।
एरिया–२ का कोअर्डिनेटर मेघा तिमल्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रम बिहान ११ बजेबाट सुरु भई दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा मुख्य अतिथिका रूपमा डिष्टिक्ट ३२५ आइ नेपालका डिष्टिक्ट गभर्नर पार्वती खरेल पाण्डे, विशेष अतिथि मल्टिपल डिष्टिक्ट कोअर्डिनेटर मनबहादुर रोक्का, प्रथम भाइस डिष्टिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व डिष्टिक्ट गभर्नर इन्दु लम्साल, एलसिआइएफ कोअर्डिनेटर अनिता थापा बिष्ट, जिएसटी कोअर्डिनेटर केदार न्यौपानेलगायत क्याबिनेटका पदाधिकारी तथा लायन्स तथा गैर लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्रोत व्यक्तिको रूपमा नर्भिक अस्पतालका प्रा. डा. अचला वैद्यले महिलाको रजोनिवृत्तिका शारीरिक तथा स्वास्थ्य पक्षबारे महत्वपूर्ण प्रस्तुती दिएकी थिइन् भने पीएचडी स्कलर तथा मनोवैज्ञानिक डा. पदम राज जोशीले मेनोपोजका कारण मानसिक अस्थिरता बढ्ने सम्भावनाहरू तथा मानसिक सन्तुलन कसरी जोगाउने भन्ने विषयमा विस्तृत रूपमा अभिमुखीकरण गरेका थिए ।
होमो हेल्थका संयोजक तथा कार्यक्रम संचालिका सुरक्षा कुँवरको विशेष समन्वयमा प्रस्तुत गरिएको कार्यक्रममा रजोनिवृत्तिका समस्यामा आधारित नाट्य प्रस्तुती समेत गरिएको थियो, जसले सहभागीहरूलाई थप प्रभावकारी रूपमा सजग बनाएको थियो । महिला स्वास्थ्य, मेनोपोजका लक्षण, यसको प्रभाव तथा समाधानका उपायहरूबारे सहभागीबीच खुलेर छलफल गरिएको थियो ।
