‘जेन–जी मुभमेन्ट’ ले शान्तिपूर्ण आन्दोलनमा राजनीतिक स्वार्थ बोकेका व्यक्तिहरू घुसपैठ गरेको दाबी गरेको छ । बानेश्वर क्षेत्रमा हिंसा र तोडफोड जारी रहँदा आन्दोलनका आह्वानकर्ता तथा प्रत्यक्षदर्शीहरूले बाहिरिया घुसपैठ भएको बताएका छन् । सरकारको अत्यधिक बल प्रयोग र घुसपैठका कारण आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु र घाइतेको संख्या बढेको छ ।
‘जेन–जी मुभमेन्ट’ ले शान्तिपूर्ण आन्दोलनमा राजनीतिक स्वार्थ बोकेका व्यक्तिहरू घुसपैठ भएको दाबी गरेको छ । जेन–जी अभियन्ता आजका लागि सडकबाट फर्किसक्दा पनि बानेश्वरको सडकमा भने हिंसा जारी देखिन्छ ।
शान्तिपूर्ण आवाजलाई तोडफोड र संसद् भवनतर्फ जबर्जस्ती प्रवेशको प्रयासले आन्दोलन प्रभावित बनाएको विज्ञप्तिमार्फत ‘जेन–जी मुभमेन्ट’ ले भनेको छ । ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो,’ जेन–जीको विज्ञप्तिमा भनिएको छ । ‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको तथा आन्दोलन शान्तिपूर्ण गर्ने तयारी रहेको भनिरहँदा आखिर कसले मचायो त हिंसा ? संसद् भवनभित्रै प्रवेशको प्रयास कुन समूहले ग¥यो ?जेन जी आन्दोलनले आफूलाई कुनै पनि राजनीतिक दलबाट अलग्गै रहन दिन आह्वान गरिरहँदा पनि दुर्गा प्रसाईंदेखि रास्वपासम्मले जस लिन होडबाजी गरेका थिए ।
जेन–जीको मुभमेन्टलाई माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रमा प्रदर्शनको स्थान प्रशासनले तोकेको थियो । जेन जीहरू बिहान १० बाट माइतीघरमा जम्मा भएर बानेश्वरतिर लागेका थिए । बानेश्वरमा निषेधित क्षेत्रभित्र प्रवेश गर्ने तथा आन्दोलनका लागि पूर्व निर्धारित गरिएको भन्दा फरक तीनकुने क्षेत्रबाट प्रदर्शनकारीहरू संसद् भवनतर्फ प्रवेश गरेका थिए । तर यी दुई समूहलाई रणनीतिक रूपमा व्यवस्थापन गर्न गृह प्रशासन पूर्णतः असफल भएको थियो ।
