काभ्रे – जिल्लाबाट हरेक विहिबार प्रकाशित सुसन्देश साप्ताहिकले २२ औं वर्ष पुरागरी २३ औं बर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाएको छ । ‘सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि’ भन्ने नारालाई अँगाल्दै अघि बढेको साप्ताहिकले विहिबार धुलिखेलमा २३ औं स्थापना दिवस मनाएको हो । सोही अवसरमा यदुनाथ गौतम देउपुरे प्रधानसम्पादक र पत्रिकाका सहसम्पादक चित्रप्रसाद घिमिरे (हरिहर) सञ्चालक अध्यक्ष रहेको नेत्रवाण डटकम नामक अनलाइन न्युज पोर्टलको समेत शुभारम्भ गरेको छ ।
कार्यक्रममा पूर्व सभामुख, पूर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख अग्नीप्रसाद सापकोटाले अनलाइन शुभारम्भ गर्दै देशको अग्रगामी परिवर्तन ल्याउन सञ्चार माध्यमले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अबको आवश्यकता डिजिटल पत्रकारिता रहेको उल्येख गर्नुभयो । कार्यक्रममा प्रतिनिधी सभा सदस्य सुर्यमान दोङ, (लालध्वज) प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, मण्डनदेउपुर नगरपालिका काभ्रेका उपप्रमुख विष्णुमणि नेपाल, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा लगायतले सञ्चारको प्रभावकारीता बारे मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) काभ्रेका संयोजक भोला अर्याल, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना र पत्रिकालाई सहयोग गर्ने अमृत अधिकारी, रविन मानन्धर, शुभराज अधिकारी, बिपशना शाक्य, चित्रप्रसाद घिमिरे, मनिषा तिमल्सिना, सीता थापा, कृष्णबहादुर खत्री लगायत विभिन्न संघसंस्था र व्यक्तित्वलाई सम्मान गरेको थियो । उक्त अनलाइन मिडियामा सम्वादक ध्रुवप्रसाद न्यौपाने सह–सम्पादक सन्तोष बजगाइ रहनुभएको छ ।
