काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण शुक्रबार राजधानीमा आयोजित सभाले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । रामसुन्दर देउजा उपाध्यक्ष,प्रदीप सापकोटा महासचिव,तारा केसी कोषाध्यक्ष र सदस्यहरुमा क्रमशःपूर्णबहादुर श्रेष्ठ, शुभद्रा अधिकारी र वसन्तराम नकर्मी सर्वसम्मत चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.लक्ष्मणप्रसाद गौतमको अतिथ्यतामा सम्पन्न भयो । उनले उद्घाटन मन्तव्यमा भने– ’साहित्यिक संस्था त धेरै खुल्छन् तर समयक्रममा व्यक्तिहरुबीच मन नमिलेपछि फुट्छन् । तर सुनकोशी त्यस्तो नहोस । यो मेरो संस्था हो भन्ने भावना सबैमा भयो भने संस्था दीगो हुन्छ । सुनकोशीलाई नामजस्तै काम गरेर देखाउने चूनौति पनि छन् । उनको कथन छ ।
दुई चरणमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार पवन आलोक, लघुकथा समाज, नेपालका अध्यक्ष तुलसीहरी कोइराला लगायतले शुभकामना मन्तव्य राखे । बन्द सत्रमा महासचिव प्रदीप सापकोटाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन पेश गरेकोमा दुवै प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । उद्घाटन शत्रको अध्यक्षता छविरमण सिलवाल तथा बन्द शत्रको अध्यक्षता निर्वाचन समितिका संयोजक श्रीबाबु कार्कीले गरेका थिए ।
कार्कीको संयोजकत्वमा सुमन सौरभ र अधिवक्ता विजयभक्त श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमितिको निर्वाचन सम्पन्न गरेको थियो । नवनिर्वाचित समितिलाई वधाई ज्ञापन गर्दै प्रा.डा.गौतमले प्रमाणपत्र वितरण गरे भने निर्वाचन संयोजक कार्कीले सपथ गराएका थिए । छोटो समयमै नेपाली साहित्यमा विभिन्न गतिविधीहरु गरी साहित्यमा यो वाङ्मय प्रतिष्ठानले छुट्टै प्रभाव छोडेको छ ।
