कवि विश्व सिग्देलको नयाँ कविता संग्रह ‘पेल स्याडोज एट डस्क’ शनिबार राजधानीमा विमोचन भयो । प्रमुख अतिथिहरू डा.हेमराज काफ्ले र डा.बलराम अधिकारी तथा कवि सिग्देलले पुस्तक सार्वजनिक गरे । डा.हेमराज काफ्लेले आफ्नो मन्तव्यमा सिग्देलको लेखनशैलीलाई संवेदनशील र भावुक बताउँदै संग्रहले मानवीय भावनाका गहिरा तहलाई समेटेको धारणा राखे । उनले पुस्तकका कवितालाई सुन्दर बान्की र काव्यिक सौन्दर्यको उदाहरणका रूपमा प्रस्तुत गरे । कार्यक्रममा अंग्रेजी र जर्मन भाषामा कविता वाचन थियो । कवि रजनी मिला, हरिश अधिकारी, भीष्म उप्रेती र अभय श्रेष्ठले अंग्रेजी अनुवाद वाचन गर्दा श्रोता भावविभोर भए । त्यसैगरी निशान बेलबासे, साकृत सिग्देल, सेविका लिम्बु र प्रतीक्षा दाहालले जर्मन भाषामा प्रस्तुत गरेका कविताले सिग्देलको लेखनलाई अझ अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा उजागर ग¥यो ।
कवि सिग्देलले आफ्ना मन्तव्यमा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै पेल स्याडोज एट डस्क आफ्नो “आत्ममन्थन र बाहिरी संसारको अवलोकन दुवैको यात्रा” भएको बताए । उनले अंग्रेजी अनुवादक स्टर्मी हजारिका र जर्मन अनुवादक स्वेन्याप्रति विशेष धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै धीर कुमार श्रेष्ठले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता साहित्यिक भेला नेपाली कवि–साहित्यिक समुदायलाई अझ सशक्त बनाउन अपरिहार्य रहेको बताए । कार्यक्रमको उद्घोषण कवि चन्द्रबहादुर लामाले गरेका थिए भने कार्यक्रम कवयित्री रमी प्रियाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
