नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार–२०८२ बाट बनेपा–६, काभ्रेपलाञ्चोक स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुरस्कृत भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३८औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त घोषणा गरी वितरण गरिएको हो । नेफ्स्कूनले संघमा आवद्ध संस्थाहरु मध्येबाट एक साकोसलाई नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार प्रदान गर्दै आएको छ ।
संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले पुरस्कृत व्यक्ति र सहकारीका नाम घोषणा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अभियानमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा सहकारीलाई विभिन्न विधा अन्तर्गत सम्मान एवम् पुरस्कार प्रदान गरेका थिए । संस्थाका तर्फबाट अध्यक्ष कैलाश केसी, प्रमुख कार्यकारी विवेक राज ठकुरी लगायत संस्थाका सञ्चालक र कर्मचारीहरुले पुरस्कार ग्रहण गरेका थिए । संस्थाले २०७४ सालमा पनि ‘नेफ्स्कून सर्वोत्कृष्ट साकोस’ पुरस्कार पाएको थियो ।
२०५० सालमा स्थापना भएको बुडोल सामुदायिक साकोसमा १९ हजार ५ सय ७३ जना सदस्य आवद्ध छन् । २ अर्ब १८ करोड कुल सम्पत्ति रहेको संस्थाको संस्थागत पुँजी १७ करोडभन्दा बढी छ । संस्था स्तरीकरण कार्यक्रम एक्सेसमा आवद्ध भई ब्राण्ड समेत प्राप्त गरिसकेको छ । संंस्थाले २०६९ सालमा एक्सेस ब्रोञ्ज ब्राण्ड र २०७२ सालमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । संस्थाले राष्ट्रिय सहकारी महासंघबाट राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार २०७० समेत प्राप्त गरीसकेको छ ।
